बौद्ध दर्शनमा पूर्वजन्म र पुनर्जन्म

वर्तमान जीवनभन्दा पृथक, पूर्वजन्म र पुनर्जन्मको कुरा गर्दा अन्धविश्वास तथा अवैज्ञानिक भनेर पन्छाउनेहरू पनि छन्। यी विषयवस्तु अस्वीकार गर्नेलाई वैज्ञानिक सोच भएका, आधुनिक र प्रगतिशीलको विशेषता प्राप्त हुन्छ। तर, गौतम बुद्ध पूर्वजन्म र पुनर्जन्मको कुरालाई मान्ने मात्रै होइनन्, उनको सम्पूर्ण शिक्षाको आधारशीला वा उपादेय यसैमा निहित छ।

बुद्धका केही कुराले प्रभावित वा अरूले प्रशंसा गरेकै कारण त्यसको सिको गरेर प्रशंसा गर्नेहरूमध्ये कोही पूर्वजन्मको कुरालाई लिएर अलमल्ल पर्छन् वा बुद्धले त्यस्तो भन्दै नभनेको बरु बौद्धहरूले विकृत पारेको भन्दै पानीमाथि ओवानो हुने तर्क गर्छन्। वास्तविकता के हो भने, बौद्ध धर्मदर्शन अन्यभन्दा पृथक् हुनुका खासखास कारणमा एउटा पूर्वजन्म र पुनर्जन्ममा आधारित जीवन दर्शन हुनु पनि हो। शील सदाचार तथा नैतिकताका कुरा त अन्य धर्मदर्शन वा सम्प्रदाय विशेषमा पनि पाइन्छ। यी शील सदाचारले जीवनशैली उत्तम र मर्यादापूर्ण अवश्य हुन्छन्। तर, जीवन प्रवाहलाई यही जीवनमा मात्रै सीमित मान्न नहुने बुद्ध वचन नै छ। यी कुरा बौद्ध जीवन दर्शनको अभ्यास वा लक्ष्य प्राप्तिका लागि आधारभूमि वा सहायक हुन्। जीवन प्रवाहलाई वर्तमान जीवन मात्र सीमित गर्नुको अर्थ बौद्ध धर्मदर्शनलाई स्वतः अस्वीकार गर्नु हो। यसैलाई अर्को भाषामा भन्नु पर्दा गुदीलाई फालेर बोक्रालाई राख्नुजस्तै हो।

जीवन प्रवाह कहाँबाट सुरु भयो र किन सुरु भयो ? यो प्रश्न बडो पेचिलो छ। पूर्वजन्मको कुरालाई बडो महत्व दिएर माने पनि बुद्धले यसको जवाफ दिएका छैनन्। बुद्ध वा बौद्ध धर्मदर्शनको उद्देश्य त्यस्ता प्रश्नको जवाफ खोज्ने होइन पनि। यसको जवाफ पाएर के नै हुने हो र ? वर्तमान जीवनभन्दा अघि कैयौं पूर्व जीवन थिए,  यसलाई अवबोध गर्नु प-यो। यो प्रवाहमा प्रवाहित हुँदै वर्तमान जीवनमा आइरहेका छौं। मृत्युपछि पनि यसरी नै अनन्तसम्म प्रवाहित भएरै जाने हो र ? अथवा कहीँ गएर मिल्न जाने हो ?

मृत्युपछि जीवन के हुन्छ वा कसरी अगाडि बढ्छ भन्ने प्रश्न पनि बौद्ध धर्मदर्शनको सरोकारको विषय होइन यद्यपि यो प्रश्न पनि त्यत्तिकै रोमाञ्चक छ, जति पूर्व जीवनको। बरु यो जीवन प्रवाहलाई नै रोक्ने, अन्त्य गर्ने बौद्ध धर्मदर्शनको एक मात्र उद्देश्य वा लक्ष्य छ। यसलाई अर्हत्व प्राप्ति पनि भनिन्छ। निर्वाण पनि भनिन्छ। अर्हत्व वा निर्वाण प्राप्ति के हो भन्ने सम्बन्धमा विभिन्न बौद्ध सम्प्रदायमा खासै मत भिन्नता पाइँदैन। तर, कसरी र कहिले भन्ने सवालमा भने प्रशस्त मतभेद पाइन्छ र यहीअनुसार विभिन्न सम्प्रदायको उदय हुनपुग्यो, उदाहरणका लागि : जन्म र मृत्युको यो प्रवाहबाट मुक्त हुनुलाई सामान्यतः अर्हत्व प्राप्त भनिन्छ र अर्हत्व प्राप्तिलाई नै प्राथमिकता दिने जुनसुकै नामको सम्प्रदाय होस्, सबै हिनयानअन्तर्गत पर्छन्।

म अहिले मरेर के भयो र ? फेरि जन्मन्छु र जगतको कल्याणका खातिर फेरि–फेरि मर्छु र आउँछु भन्नु बौद्ध आदर्श हो र यसमा पुनर्जन्मकै कुरा आउँछ। जन्ममृत्युको चक्रलाई अन्त्य गर्ने बुद्धको शिक्षा हुँदाहुँदै पनि मान्छे किन पुनर्जन्म लिँदै गर्छन् भन्ने सवालमा त्यो उसको व्यक्तिगत छनोटको कुरा हो।

हिनयानको लक्ष्य वा कार्यक्षेत्र व्यक्ति विशेषमा सीमित छ। यसको विपरीत आफू मात्र मुक्त भएर के गर्नु, अरूलाई पनि मुक्त पार्नु पर्छ भन्ने मनसायसहित महाकरुणाले वशीभूत भई अर्हत् हुने हैसियत राखेर पनि त्यसलाई स्थगित गरी अनेकौं जन्म लिई पारमिता पूरा गर्ने र त्यसैमा खुसी हुनेहरूलाई बोधिसत्व भनिन्छ र यस्तो मार्ग अवलम्बन गर्नेलाई बोधिसत्वयान भनिन्छ। बोधिसत्वयानलाई नै महायान भनिएको छ। महायानीहरू सम्पूर्ण पारमी पूरा गरेर स्वयं सम्यक सम्बुद्ध हुन्छन्, अर्थात् गौतम बुद्धकै स्तरमा पुगी महापरिनिर्वाण हुने महान् लक्ष्य राख्छन्। 

‘त्रिपिटक’अन्तर्गत संग्रहित ग्रन्थमा एउटा जातक कथा पनि हो। यसमा गौतम बुद्धसँग सम्बन्धित पूर्वजन्मका कुरा विभिन्न शीर्षकमा ५५० कथा छन्। गौतम बुद्धको मात्रै पूर्वजीवन हुने होइन, पूर्वजीवनका पात्र वर्तमानमा पनि सँगसँगै हुन्छन्। जम्मै कथाको प्रधानचरित्र गौतम बुद्धको पूर्व जीवनका विभिन्न नाम भएजस्तै अन्यको पनि पूर्वजीवनको चरित्र चित्रण भएको पाइन्छ। जातक कथामा वर्णित गौतम बुद्धको पूर्वकथालाई बोधिसत्वले गरेको बोधिचर्या भनेर अथ्र्याउन पनि सकिन्छ। बुद्धका कतिपय उपदेश यही पूर्वजीवनमा आधारित छन्।

पूर्वजन्म र पुनर्जन्म भन्ने कुरा नै हुँदैन। यो नितान्त प्राकृतिक प्रक्रिया हो भन्ने अवधारणालाई भौतिकवादी वा जडवादी भनिन्छ। यस्तो अवधारणालाई बुद्धले ठाडो भाषामा अविद्या वा मिथ्यादृष्टि भनेका छन् र यसले नै जन्म र मृत्युको चक्रलाई घुमाएर अनन्त दुःखको सागरमा राख्ने हो। यही भएर पुर्वजन्म र पुनर्जन्मको कुरा बौद्ध धर्मदर्शनको महत्वपूर्ण सवाल हो।

बौद्ध धर्मदर्शनले ‘अनित्य’ भन्ने कुरालाई बारम्बार दोहो-याइरहेको हुन्छ र यहाँ नित्य कुरा केही पनि नभएकोमा जोड दिइन्छ। त्यसैले बौद्ध धर्मलाई क्षणिकवादी पनि भनिन्छ। यसअनुसार सबै कुरा क्षणक्षणमा परिवर्तन भइरहेको हुन्छ। यो परिवर्णनको प्रवाह अति तीव्र गतिमा भइरहेको हुन्छ र सामान्यतः चालै पाइँदैन। उदाहरण दिएर भन्नु पर्दा, बाल्दाको बत्ती र निभ्ने बेलाको बत्ती सामान्यतः एउटै देखिन्छ। तर, बाल्दा र निभ्दाको समयभित्र अनेकौं बत्तीको बल्ने र निभ्ने पक्रिया चलेको हुन्छ। एउटा बत्ती निभ्नुको लगत्तै अर्को बत्ती बलिसकेको हुन्छ। यो तीव्रताले सबैलाई एउटै हो कि भन्ने भ्रम पैदा गर्छ। हामी बिजुली बत्ती बाल्छौं र त्यसमा पनि विद्युतीय कणहरूको उदय र विलय तीव्र गतिमा भइरहेको हुन्छ र बलिरहन्छ। जब भन्डार सकिन्छ, बत्ती पनि निभ्छ। शरीरमा पनि अनन्त कोशिका उत्पन्न हुने र मर्ने प्रक्रिया चलिरहन्छ भन्ने सिद्ध तथ्य हो। यसअनुसार बिहान ओछ्यानमा ब्युँझेको मान्छे र ओछयान छाडेर उठ्न खोजेको मान्छे उही भए पनि उही अवस्थाबाट धेरै अगाडि बढिसकेको हुन्छ भने बेलुकासम्म पुनः सोही ओछ्यानमा निदाउने बेलासम्ममा थुप्रै परिवर्तन भइसकेको हुन्छ। दिनभरको यो उदय र विलयको चक्र रातमा पनि चलिरहन्छ। अथवा राति निदाएको अवस्थालाई मृत्यु भनेर बिहान पुनर्जन्म पनि भन्न सकिन्छ। जन्म र पुनर्जन्मको यो सन्धि ज्यादै छोटो हुन्छ।

जसलाई हामी मृत्यु भनिरहेका छौं त्यो बौद्ध धर्मअनुसार परिवर्तनकै अर्को कडी मात्रै हो। मृत्युपछि प्राणीको ‘विज्ञान’ तत्कालै अर्को कुनै प्राणीको गर्भमा प्रवेश गर्छन् भन्ने मान्यता राख्छन् भने महायानीले तत्कालै नभएर केही समयपछि पनि हुनसक्छ भन्ने मान्यता पाइन्छ। निश्चित योनिमा रहेको प्राणीको मृत्युपछि ‘विज्ञान’ सोही योनिमा जन्मका लागि गर्भ प्रवेश गर्छन् भन्ने अनिवार्य छैन। सामान्यतः यसलाई कर्मसिद्धान्तअनुसार हुने भनिन्छ। तर, पुण्यवान् मनुष्यले पुण्यको बलले याेनिको चुनाव गर्न सक्छन् भन्ने मान्यता पनि छ। यसअनुसार बोधिचर्या गर्न उत्तम योनि मनुष्य भएका कारण बोधिसत्वहरु प्रायः मनुष्य योनिमै आउने गरेको विवरण पाइन्छन्।

पूर्वजन्ममा म यस्तो थिएँ वा उस्तो थिएँ भनेर वर्णन गर्ने बालबालिकाका समाचार बरोबर सुन्न पाइन्छ। तीन, चार, पाँच या ६ वर्ष उमेर पुगेका बालबालिका, जसको परिवेशका लागि नितान्त अज्ञान ठाउँका बारेमा यसरी बोल्ने र परीक्षण गर्दा सही सावित हुने घटनालाई लामो समयदेखि मानव समाजलाई चकित पार्दै आएको पाइन्छ। तिब्बतमा बौद्धधर्मको अभ्यास गर्ने लामाहरू मृत्युपछि निश्चित ठाउँमा पुनः जन्म लिने गरेको र त्यसलाई पहिचान गरी पुनः गुम्बामा ल्याएर हुर्काउने गरेको पाइन्छ। सामान्यतः यसरी पुनर्जन्म लिनेलाई ‘टुल्कु’ भनिन्छ। यही टुल्कुलाई गैर बौद्ध समाजमा ‘अवतारी लामा’ भन्ने चलन छ। अवतारको अवधारणा बौद्ध धर्मसँग सम्बन्धित नभएर हिन्दू धर्मसँग सम्बन्धित छ। हिन्दू धर्मले भन्ने अवतार र बौद्ध धर्मको पुनर्जन्म एउटै नभएका कारण टुल्कूहरूलाई अवतारी लामा’ भनी अनुवाद गर्नु गल्ती हो।

म अहिले मरेर के भयो र ? फेरि जन्मन्छु र जगतको कल्याणका खातिर फेरि–फेरि मर्छु र आउँछु भन्नु बौद्ध आदर्श हो र यसमा पुनर्जन्मकै कुरा आउँछ। जन्म–मृत्युको चक्रलाई अन्त्य गर्ने बुद्धको शिक्षा हुँदाहुँदै पनि मान्छे किन पुनर्जन्म लिँदै गर्छन् भन्ने सवालमा त्यो उसको व्यक्तिगत छनोटको कुरा हो। फेरि–फेरि जन्म लिएर बोधिचर्या गरिरहनु बडो कठिन हुने भएकाले सर्वसाधारणका लागि गौतम बुद्धले अर्हत्वमा जोड दिएको भनेर पनि बुझ्न सकिन्छ। बोधिचर्याका लागि पुनर्जन्म लिनु त बुझ्न सकिने कुरा हो तर यी कुराबाट बेखर भई प्राकृतिक रूपमा जन्म र मृत्युको चक्रमा पिल्सिरहनु बेग्लै कुरा हो।

पूर्वजन्म र पुनर्जन्म हुन्छ भने सम्झना किन आउँदैन भन्ने प्रश्न पनि उठ्ने गर्छ। यहाँ ध्यानमा राख्नु पर्ने कुरा के हो भने, बिहान उठ्दादेखिको कुरा बेलुकासम्ममा जस्ताको तस्तै सम्झन सक्दैनौं। एक जन्मदेखि अर्को जन्म बीच धेरै दुरी रहेको हुन्छ। अर्को कुरा, मान्छेको पुनर्जन्म मान्छे नै हुन्छ भन्ने छैन, अन्य योनीमा पनि हुनसक्छ। पशुपंक्षी, कीटपतंग मात्रै नभएर इन्द्र, ब्रह्मा लगायतका देवयोनिमा पनि जन्म लिन पुगेका हुन्छौं जसको आयु हजारौं–हजार वा लाखौं पनि हुन्छन् भन्ने मान्यता छ। देवयोनिमा जानेमा पनि अनित्य, पूर्वजन्म तथा पुनर्जन्मको ज्ञान नहुने गरेको वृतान्त बौद्ध ग्रन्थमा पाइन्छ। अहत्व मात्रै प्राप्त गर्नेले पनि उसको क्षमताअनुसार पूर्वजन्मका कुरा सम्झन सक्ने हुन्छन्। एक वा दुई जन्मअघिको मात्रै नभएर असंख्य जन्मको सम्झना पनि हुन्छ।

स्रोत : Basanta Maharjan

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि