बल्ल सुरु भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको चहलपहल


ठूला–ठूला संरचना, प्रशस्त विद्यार्थी, पुस्तकालय र अनुसन्धान केन्द्र विश्वविद्यालयका चिनारी हुन्। तर लुम्बिनी बौद्ध विश्वविद्यालयले यस्तो पहिचान पाउन एक दशक कुर्नपर्‍यो।

पदाधिकारी राजधानीको सम्पर्क कार्यालयमा सीमित हुँदा विश्वविद्यालय काठमाडौंमै केन्द्रित रह्यो। विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक गतिविधि नै अघि बढ्न सकेन। विश्वविद्यालयले स्थापनाको १५ वर्षपछि बल्ल शैक्षिक संस्थाको स्वरूप पाएको छ। पदाधिकारी पहिलोपटक लुम्बिनीमा नियमित हाजिर गर्न थालेका छन्। शैक्षिक एवं प्रशासनिक गतिविधि बढेका छन्।

विश्वविद्यालयमा रजिस्ट्रार डा. तिलकराम आचार्य नियुक्ति लगत्तै लुम्बिनीबाटै शैक्षिक कार्यक्रम सुरु गरिएको छ। दुई वर्षअघि सरकारले विश्वविद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि सबै पदाधिकारी लुम्बिनीमा बस्न थालेका छन्।

निवर्तमान उपकुलपति डा. नरेशमान बज्राचार्यले एक वर्षमा करिब दुई महिनामात्रै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिताएका थिए। विश्वविद्यालयमा बौद्धदर्शन, कला, धर्म, संस्कृति, पुरातात्त्विक विषय अध्ययनअध्यापन हुन्छन्। विद्यावारिधि (पीएचडी) बाट शैक्षिक कार्यक्रम थालेको विश्वविद्यालयले ०७१ सालमा स्नातकोत्तरमा बौद्ध शिक्षा पठनपाठन थालेको हो। अहिले स्नातकोत्तरका साथै स्नातक तह र एकवर्षे प्रमाणपत्र तहको पढाइ हुन्छ।

‘केन्द्रीय कार्यालयमै कक्षा सञ्चालन र भौतिक पूर्वाधार निर्माण थालिएपछि विश्वविद्यालयको दायरा बढ्दै गएको छ’, रजिस्ट्रार डा. तिलकराम आचार्यले भने, ‘अब शैक्षिक क्रियाकलापसँगै भौतिक पूर्वाधारलाई रफ्तारमा अघि बढाउँछौं।’

विश्वविद्यालयको केन्द्रीय कार्यालय र क्याम्पस लुम्बिनीको पर्सामा सञ्चालनमा छ। केन्द्रीय क्याम्पसले स्नातक र एकवर्षे प्रमाणपत्र तहका भाषा कक्षा सुरु गरेको छ। बुटवलमा स्नातक तहमा ट्राभल एन्ड टुरिजम र कानुन (बीएएलएलबी) कक्षा सञ्चालनमा छन्। ०७१ सालमा ७० जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको विश्वविद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन्।

बौद्ध विश्वविद्यालयले काठमाडौंका विभिन्न सात निजी कलेजलाई सम्बन्धन दिएको छ। रजिस्ट्रार आचार्यले विदेशी विद्यार्थीलाई भर्ना लिने गरी तयारी भइरहेको बताए। ‘पूर्वाधार नभएका कारण पर्याप्त मात्रामा विद्यार्थी भर्ना गर्न कठिन थियो, अब केही संरचना तयार भएका छन्’, उनले भने।

विश्वविद्यालयले ११ बिघामा आधारभूत पूर्वाधार निर्माण गरेको छ। सरकारले भवनबाहेक अन्य पूर्वाधार निर्माणका लागि बजेट नदिँदा बौद्ध संस्कृतिसम्बन्धी पूर्वाधार बनाउन कठिन रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले लुम्बिनी विकास कोष परिसर र सुण्डीमा सुविधायुक्त छात्रावास, पदाधिकारी निवास, शिक्षक आवास निर्माण गरेको छ। २० करोड लागतमा अनुसन्धान केन्द्र तथा करिब ११ करोड लागतमा पुस्तकालय भवन निर्माणधीन छन्।

शैक्षिक पर्यटन क्षेत्र
बौद्धदर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्यापन हुन्छ। तर विदेशी नागरिक लुम्बिनीलाई विशेष महत्त्व राख्ने गरेका छन्। विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ। त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेको रजिस्ट्रार आचार्यले बताए।

लुम्बिनी आउने प्रायः पर्यटक बौद्ध विश्वविद्यालयको अवलोकनमा पुग्ने गरेका छन्। केही समयअघि विश्वविद्यालय परिसरमै बनेको स्तूपमा बुद्धका अस्तुधातू प्रतिस्थापन गरिएपछि यसको आकर्षण बढेको हो।

विश्वविद्यालयले सात करोड लागतमा स्तूप बनाएको छ। जसमा म्यानमारका भिक्षुहरूको सहयोगमा अस्तुधातु राखिएको छ। बौद्ध समुदायमा अस्तुधातु राखिएको स्तूपलाई महत्व दिइन्छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वकै नमुना विश्वविद्यालय बनाउने योजनासहित काम भइरहेको बताए। ‘हामी मुलुकका अन्य विश्वविद्यालयभन्दा भिन्न हौं। यसको फरक प्रकृति छ’, उनले भने, ‘स्वदेशी विश्वविद्यालयको प्रतिस्पर्धी बन्दै नमुना बन्ने योजनामा छौं।’ विश्वविद्यालयमा अर्कियोलोजी, म्युजियोलोजी, थेरवाद, महायान विषय अध्यापन भइरहेका छन्।

बौद्ध क्षेत्रमा विस्तार
विश्वविद्यालयले बौद्ध स्मारक क्षेत्रमा शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ। विश्वविद्यालयलाई बौद्धदर्शनसँग जोडेर बहुविषयमा लैजाँदै कपिलवस्तु र देवदहमा कक्षा सञ्चालन योजना बनाएको हो।

रुपन्देहीको देवदहलाई बुद्धको मावली मानिन्छ। त्यहाँको सय बिघा जमिनमा भौतिक पूर्वाधार गर्ने योजना रहेको रजिस्ट्रार आचार्यले बताए। ‘जग्गा प्राप्तिका लागि मन्त्रालयमा फाइल पुगेको छ’, उनले भने, ‘मन्त्रिपरिषद्ले जग्गा स्वीकृति दिनासाथ पूर्वाधार निर्माण हुन्छ।’ 

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि