तरबार नचाउने सेतो गुम्बाका आनी (भिडियोसहि)

शरीर नै छेड्लाझैं गरी आनीहरुले नचाइरहेका धारिला तरबार बिहानको घाममा टल्किँदा जिउ सिरिङ्ग हुन्छ। एउटै तालमा फनफनी तरबार नचाउँदै उनीहरु हावामा घुम्छन्, कार्टह्विल गर्छन् र एकसाथ किक हानेर समवेत फुर्तिलो स्वर निकाल्छन् ।

मुण्डन गरिएको टाउको र एकैखालको पहिरन लगाएका यी आनीहरु दैनिक अभ्यास सकाएपछि अरु काममा व्यस्त हुन्छन्। ‘कुङ फू नन्स’ नामबाट अन्तर्राष्ट्रिय ख्याति पाएकोमा उनीहरुलाई गर्व छ।

नागार्जुन नगरपालिकामा अवस्थित सेतो गुम्बाको उत्तरतर्फ अग्लो हिमशृंखला देखिन्छ। जिग्मे याङ्चेन घामो १० वर्षको उमेरदेखि यहीँ छिन् । “यो क्षेत्रमा मार्शल आर्ट गर्ने आनी हामीमात्र हौं,” उनले भनिन्, “यो आजीवन व्रत हो, जुन मैले ड्रुक्पा परम्पराका लागि लिएकी छु र, मलाई यसमा गर्व छ ।”

आनीहरुसँग विभिन्न क्षेत्रमा सहकार्य गरिरहेको गैरसरकारी संस्था ‘लिभ टु लभ’का अध्यक्ष क्यारी लीका अनुसार नेपाल र छिमेकी देशहरुमा महिलाप्रति हुने भेदभाव नौलो कुरा होइन। यस्तो भेदभाव यहाँका महिलाको जीवनको हिस्सा बनिसकेको छ।

समाजमा अझै पनि छोरीलाई बोझ ठान्नेहरु प्रशस्तै छन्। गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउनेको संख्या पनि उल्लेख्य छ। शिक्षा र स्वास्थ्यमा छोरीहरुको पहुँच सीमित छ। उनीहरु बालविवाह वा बेचबिखनको शिकारमा पर्ने जोखिम पनि उत्तिकै छ। घरेलु हिंसा त छँदैछ।

त्यसो त ड्रुक्पा परम्परामा पनि महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरिन्छ। ड्रुक्पा परम्पराका आध्यात्मिक गुरु ग्याल्वाङ ड्रुक्पा भन्छन्, “मलाई सानैदेखि बौद्ध धर्मभित्रका केही मान्यतामा महिलाप्रतिको व्यवहार ठिक छैन भन्ने लाग्थ्यो । त्यसैले सन् २००० देखि आनीहरुलाई नेतृत्वमा ल्याउन शुरु गरें ।”

तर, परम्परा बदल्नु सजिलो थिएन। कतिपय पुरातनवादीहरुले यो कार्यको विरोध गरे । ली भन्छिन्, “त्यसपछि आनीहरुमाथि उत्पीडन र आक्रमण समेत भयो।”

आनीहरुको आत्मविश्वास र आत्मसम्मान बढाउनका लागि ड्रुक्पाले सन् २००८ मा कुङ फू शिक्षक नियुक्त गरेर तालिम शुरु गराए। “म कुङ फू आर्ट र मार्शल आर्ट दुवैलाई शिक्षाको अंगको रुपमा लिन्छुु,” अभिनेत्री सुसान सारान्डनलाई २०१४ मा दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, “मैले यस्तो काममा आउने थुप्रै अवरोधहरु पार गरिसकेको छु । बौद्ध धर्मका अनुयायीहरुले जे भने पनि मलाई कुनै आपत्ति छैन र मतलब पनि छैन।”

स्वस्थ जीवन

“हामी बिहानै ३ बजे उठेर केहीबेर ध्यान गर्छांै, साइकल चलाउँछौ र फेरि तीन घण्टा अभ्यास गर्छौं,” घामो भन्छिन्– “ड्रुक्पा परम्परा अल्छीहरुका लागि हुँदै होइन।”

तरबार, लठ्ठी र झण्डा लिएर कुङ फू अभ्यास गर्नु बाहेक आफ्नो फिटनेस वृद्धिका लागि आनीहरु दौड, साइक्लिङ र हातले इँटा फोड्ने जस्ता अभ्यास पनि गर्छन् ।

सम्पूर्ण शारीरिक कार्यको आध्यात्मिक उद्देश्य हुन्छ, घामो भन्छिन्– “कुङ फू ले ध्यान गर्न र एकाग्र हुनका लागि मद्दत गर्छ।”

मार्शल आर्टले स्वास्थ्यमा व्यापक फाइदा पुर्याउने कुरा त अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ। सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार कुङ फू जस्तो मार्शल आर्टले उमेर बढ्दै जाँदा कम हुने शारीरिक सन्तुलन र बौद्धिक क्षमतामा सुधार ल्याउँछ। सन् २०१६मा गरिएको एक अध्ययनले कुङ फू र कराँतेले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने प्रमाणित गरेको छ।

अर्को पुरानो मार्शल आर्ट ताई चीले हड्डी बलियो बनाउने, रक्तचाप ठिक राख्ने र रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्नुका साथै शरीरबाट विकार हटाउनमा समेत मद्दत पुर्याउँछ।

मार्शल आर्ट अभ्यास गर्दा मानसिक लाभ पनि प्रशस्तै हुन्छ । मार्शल आर्टले तनाव र एन्जाइटी कम गर्ने, कोर्टीसोल जस्ता स्टे«स हर्मोनको मात्रा कम गर्ने समेत अध्ययनले पुष्टि गरेको छ।

पहिरो, हिमपहिरो र भूकम्प

२०७२ मा करिब ९ हजार मानिसको ज्यान लिएको ७.९ रेक्टर स्केलको विनाशकारी भूकम्पपछि यहाँका आनीहरु वरपरका घटनास्थलमा उद्धारका लागि पुग्ने सम्भवतः पहिलो सहयोगीहरु थिए। त्यसपछि आनीहरु नेपालका दुर्गम गाउँमा पुगेर उद्धारका साथै राहतमा खटिएका थिए।

“विनाशकारी भूकम्प गएको बेला कुङ फू प्रशिक्षण लिएका कारण हामी उद्धार र राहतमा खटिन सक्यौं,” घामो भन्छिन्, “पहिरो, हिमपहिरो र भूकम्पका बेला हामीले अरुलाई सहयोग गर्न सकेका छौं।”

आनीहरुका अनुसार उनीहरु उद्धार र राहत र भग्नावशेष पन्छाउने कामका साथै २०१ नयाँ घर निर्माणका काममा समेत संलग्न थिए।

भूकम्पपछि सरसफाइ र उद्धारमा जुटेका बेला उनीहरुले गाउँगाउँबाट बालिकाहरु सम्भावित मानव तस्करहरुको हातमा पुगेका र बेचिएको समेत चाल पाए। त्यसविरुद्ध चेतना फैलाउन शुरु गरेका उनीहरु अचेल प्रत्येक दुई वर्षमा साइकल यात्रा गर्न थालेका छन् ।

काठमाडौंदेखि भारतको लद्दाखसम्म हजारौं माइलको यात्रा पूरा गर्ने क्रममा उनीहरु गाउँ गाउँ पुगेर छोरीहरुको रक्षा र मानव बेचविखनविरुद्ध सन्देश फैलाउँछन्।

“हामी समानता र सुरक्षाको सन्देश दिन्छौं,” उनी भन्छिन्, “साइकल चलाएर हजारौं माइल यात्रा गर्ने, मार्शल आर्ट खेल्ने हामी आनीहरुलाई देखेपछि छोरीहरुले जे पनि गर्न सक्छन् भन्ने सन्देश पुगेको छ।”

लीका अनुसार अचेल नेपालमै पनि धेरै परिवर्तन आएको छ । पुरुष सहभागीमात्र हुने गाउँका भेला र छलफलमा अचेल महिलाहरु अगाडि आउन थालेका छन्। सरकारी कार्यालयदेखि सार्वजनिक स्थानमा महिलाको संख्या बढेको छ।

डराउँदैनन् आनी

यी आनीहरु प्रत्येक वर्ष ‘इको–प्याड यात्रा’ मा निस्कन्छन् । ४०० माइलभन्दा लामो पैदल यात्राका क्रम उनीहरु जथाभावी फालिएका प्लास्टिक बटुल्छन् । स्थानीय जनतालाई वातावरण स्वच्छ राख्न प्रेरित गर्छन्।

धेरै आनीहरु सौर्य ऊर्जाबारे प्रशिक्षित छन्। कोहीले ‘लिभ टु लभ’को निःशुल्क आँखा शिविरमा चिकित्सकलाई सघाउँछन्। संगीत, नृत्य, थिएटर, पशु उद्धार तथा हेरचाह जस्ता गतिविधिहरु पनि उनीहरु नियमित गरिरहेका हुन्छन्।

२० वर्षअघि लीले स्वयंसेवा शुरु गर्दा गुम्बामा ३० जना आनी थिए। अहिले यहाँ ८ देखि ८० वर्षसम्मका ८०० भन्दा बढी आनीहरु छन्। धेरै युवतीहरु ‘कुङ फू नन’मा सहभागी हुनका लागि प्रतीक्षाको सूचीमा छन्।

यहाँका सबै आनीले आफ्नो नाम अगाडि जिग्मे लेख्छन्। तिब्बती भाषामा जिग्मेको अर्थ ‘निडर’ हुन्छ।

“मैले यहाँ आएर पुरुषले गर्नसक्ने सबै काम महिलाले पनि गर्न सक्छन् भन्ने सिकेँ,” घामो भन्छिन्– “कुङफू ले मभित्र आत्मविश्वास जगाएको छ, बलियो र खुसी हुन सिकाएको छ। यो प्रशिक्षणले मभित्रको करुणालाई व्यवहारमा उतार्न मद्दत गरेको छ।”


तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि