बौद्ध धर्ममा ञ्युङने (मौनव्रत) को नियम र महत्व

ञ्युङने मौनव्रतको महत्वबारे भगवान बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङने फेन छेम्बोमा प्रष्ट रूप बताइएका छन् कि “हे कुलपुत्र कुलपुत्री हो, ञ्युङने मौनव्रत हामी जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नाले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुनेछ ।

“ करिव २५ ञ्युङने मौनव्रत पालना गर्नाले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना पालना गर्न सके आनगमी ज्ञान बराबरी प्राप्त भई ८०,००० कल्पको पाप काटिनेछ र १०८ ञ्युङने मौन व्रत पालना गर्न सके अहर्त प्राप्त भई दश करोड कल्पको पाप अनि क्लेश आवरणहरू शुद्ध भई अपरामित बुद्धको सुखवती लोकमा जन्म हुनेछ ।”

यसै गरी हजारौं वर्ष अघि ओडियाना देशमी राजकुमारी गेलोङमा पाल्मो (भिक्षुणी कमला) को घटनालाई लिन सकिन्छ । धेरै गृहस्थी जीवनको दुःख देखेर दिक्क भई ती राजकुमारी कमला भिक्षुणी बनिन् । तर विस्तारै पूर्व जन्मको कर्मको फलस्वरूप उनलाई कुष्ठरोगले च्याप्यो । उक्त रोगको कारण हात खुट्टा नै झर्ने अवस्था आयो । खाना समेत समात्न नसक्ने भईन । र पशुले जस्तै घोप्टेर खाना पर्ने भो । यो यावत कार्यहरू देखेर दरवारमा अरूलाई सर्ने सम्भावना देखेर उनलाई एक सानो गोठ बनाएर राखियो । भिक्षुणी कमला रोगको पिडा र दर्दले अनेकौ बिलौना गर्दै कष्टकारी जीवन बिताई रहे । यही क्रममा एक रात सपनीमा आफ्ना पिता महाराजा ईन्द्राबोधि हातमा स्फटिक कलश बोकेर नजिक आई “यो महाकारुणिकलाई निवेदन गरेको प्रसाद जल हो, यसलाई पिउनु” भन्दै भिक्षुणी कमलाको शिरमा जल खन्याउनु भो र उक्त जल शरीरमा छर्किनु भो ।

जसको कारण केही सञ्चो भएको अनुभूति भयो । राजकुमारीलाई फेरी राजाले भिक्षुणी कमलालाई यो कुष्टरोगको कारणले भविष्यमा अवश्य पनि सिद्ध प्राप्त हुने र अझ परिश्रम गरि शिल पालना गर्नुपर्ने किनकि त्रिकालका बुद्धत्वको स्वभावले युक्त एघार मुखी आर्यअवलोकितेशवरलाई श्रद्धा पूर्वक भाव जगाई निरन्तर रूपमा प्रार्थना गर्नु भनेर अन्तध्र्यान भए । भिक्षुणी कमलाले उक्त साधना सुरु गरिएपछि विस्तारै रोग कम हुँदै गयो र दुखाई पनि घट्ने क्रम सुरु भो । उनले दिनको समयमा ओम मणि पद्मे हुँ ६ वटा मणि मन्त्र हजारौं पटक जप्न थाले र रातमा एघारमुखी अवलोकितेश्वरको मन्त्र, जप, ध्यान र साधना वर्षौ सम्म गरि रहे, जसको फलस्वरूप उनी कुष्टरोगबाट मुक्त भईन र धेरै देव र डाकिनीहरूको दर्शन पाईन ।

जसले गर्दा उनको शरीर पहिलेको भन्दा राम्रो र क्लेश मुक्त भईन् । यसरी यो ञ्युङने मौन व्रतको महत्व पहिलेदेखि वर्तमान अवस्थामा पनि उत्तिकै महत्व रहँदै आईरहेको छ ।

“ यस प्रकारको करुणामय ञ्युङने वा मौनव्रत प्राय गुम्बाहरूमा भिक्षु भिक्षुणीले धेरै पहिले देखि पालना गर्दै आईरहेकोमा हाल केही वर्षदेखि गृहस्थी उपासक/उपासिकाहरूले पनि पालना गर्दै आईरहेका छन् जुन खुशीको कुरा हो । ” 

हाल यस प्रकारका मौनव्रतको निश्चित तिथिहरूमा बसेता पनि हाल विशेष गरी हिन्दुहरूको महान चाड दशैंमा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको हत्या हिंसा र बली चढाईने भएकोले यसै समयमा देशका धेरै ठाउँहरूमा यो विशेष लामा गुरुहरूको नीति निर्देशनमा ञ्युङने व्रत आयोजना गर्दै आईरहेका छन् । यसपाली पनि सप्तमी बेलुकी देखि दशमीको बिहान सम्म यो मौन व्रत कार्यक्रम हुनेछ ।

यो ञ्युङने मौनव्रत बस्दा के गर्नुपर्दछ ?
१) ञ्युङने व्रत क्रिया तन्त्र विधि अनुसार हुने भएकोले सर्वप्रथम नुहाएर सफा सुग्घर हुनुपर्दछ ।
२) सुतिको नयाँ लुगा लगाएमा उत्तम हुनेछ । पुरानो लुगा भए रगत र मासुुको दाग र गन्ध नभएको सफा र सुकिलो हुनुपर्दछ ।
३) आफुले प्रयोग गर्ने ओड्ने ओछ्याउने शुद्ध र चोखो रूपमा प्रयोग गर्नुपर्दछ ।
४) आफुले प्रयोग गर्ने भाडा वर्तन सफा र शुद्ध हुनुपर्दछ । त्यसमा विशेष गरी मासु, प्याज, लसुन, जाँड, रक्सीको गन्ध हुनुहुदैन ।
५) ञ्युङने व्रतको बेला गुम्बामा सुत्ने ठाउँ नपुगेमा नजिकको घरमा सुत्न सकिन्छ । राती ९ बजे सुति सक्नुपर्ने र बिहान सबेरै शील लिन आईपुग्नु पर्दछ ।
६) ञ्युङनेको समयमा बिहान छिटो उठ्ने बानी भएमा अरुलाई असर नपर्ने गरि उठ्नु पर्दछ । बिहान गुरुबाट शील लिनुपर्दछ ।
७) ञ्युङने बस्नेले गुरुबाट शील लिने बेला टुसुक्क बस्नुपर्छ । नबुझेमा साथीलाई सोध्नुपर्छ ।
८) शील २४ घण्टाको लागि हुनेछ । ञ्युङने बस्नेले गुरुबाट शील लिएपछि ८ वटा प्रतिज्ञा अनिवार्य रूपमा गर्नुपर्दछ ।

शीलको ८ वटा प्रतिज्ञाहरू निम्न छन् ।
१) हत्या नगर्ने- शील लिँदाको समयमा ठूलादेखि स–साना प्राणीहरू समेत मार्नु हुँदैन । झारपात र रुख समेत काट्नु हुँदैन ।
२) चोरी नगर्ने- कसैको अनुमति बेगर कुनै पनि सामान चलाउने तथा चोरी गर्नुहुँदैन ।
३) झुठो नबोल्ने- ख्याल ठट्टा गर्दा समेत झुठो बोल्नु हुँदैन ।
४) ब्रम्हचार्य पालन- ञ्युङने बस्ने बेलामा स्त्री र पुरुष अलग अलग रहनु पर्दछ ।
५) निसा पालन- यस समयमा जाँड, रक्सी, गाँजा र सुर्तीजन्य पदार्थहरू लिनु हुँदैन ।
६) आसन पालन- सकेसम्म भुईंमा सुत्ने, बढीमा एक हात अग्लो, छालाबाट नबनेको, बास्नादार नभएको पलङ्गमा सुत्नु पर्दछ ।
७) सुगन्धित बस्तु- ञ्युङनेको शील लिएको बेला गरगहना नलगाउने, श्रृंगार पटार नगर्ने र अत्तर छर्किने गर्नु हुँदैन ।
८) खानपिन- दिनको १२ः०० बजेभित्र खाना खाइ सक्नुपर्नेछ । खाना नउठीकन पलेटि मारेर एकै स्थानमा बसि नउठी खानुपर्छ ।

उठेमा खाना खानु हुँदैन । खानु अघि थोरै खाना डल्लो बनाएर छेउमा राख्नुपर्छ र खाई सकेपछि फाल्नु पर्दछ । खानामा केराउ, गेडागुडी, मासु, लसुन, प्याज, अण्डा, मुला र केही सागसब्जी बार्नु पर्दछ । एक छाक खाना खाएपछि चिया र पानी गरी रातको ९ः०० बजेसम्म लिन सकिन्छ । त्यसपछि खानु, पिउनु र बोल्नु हुँदैन । गुरुको आज्ञा लिएरमात्रै खाना खानुपर्छ । कुक्पाको दिन बोल्नु त के पानी पनि नपिएर मौनव्रत बस्नुपर्दछ ।

ञ्युङनेको समयमा गुरुको अनुमति अनुसार जति सक्यो धेरै ढोक्नु पर्दछ । ढोगले गर्दा पूर्व जन्ममा आफुद्वारा गरिएको धेरै पापहरू काटिने छ । ढोग्न नसक्नेले हात जोडेर बस्नुपर्दछ । ञ्युङने बस्नु आफैमा धेरै राम्रो र पुण्य कार्य हो । यदि बस्न नसकेमा बस्नेहरूका लागि सहयोग पु¥याउन सकेमा पनि पुण्य उत्तिकै लाभ पाउन सकिन्छ ।

हामी मृत्यु पछि लिएर जाने केवल पुण्य र पाप मात्र रहेकोले शुद्ध हृदयले माथिका नियमहरू पालना गर्न सकिएमा हामीलाई धेरै फाइदा हुनेछ । अन्तमा सबै ञ्युङनेपा र मणिपाहरूको पुण्य लाभको सफलताको लागि हामी फाग्पा चेङरेसीसँग कामना गर्दै विभिन्न मठ मन्दिरमा हुने बली प्रथा यथाशिघ्र रोक्न सबैमा अनुरोध गर्दछु । ओम् मणि पद्मे हुँ । (लेखक- बौद्ध जागरण केन्द्रको संस्थापक अध्यक्ष हुनु हुन्छ ।)

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि