सम्यक पर्वमा दान लिँदा र दिँदा हुन्छ श्रीवृद्धि

ललितपुर महानगरपालिका–७ का ७० वर्षीय सूर्यमान डङ्गोल विहीबार बिहान पाटनको नागबहालमा दान दिन उपस्थित भए । उनले एकपछि अर्काे गर्दै सबै भिक्षुको झोलामा एक एक मुठी चामल हालिदिए ।

पाटनमा भव्यताका साथ मनाइने सम्यक पर्वले पारिवारिक सुख शान्त्तिका साथै सबैको इच्छा र कामना पूरा हुने पाटनवासीको विश्वास छ ।

आफूले आफ्नो क्षमतानुसार यस पर्वमा जे सकिन्छ त्यही दान गरे मनले चिताएको पूरा हुने विश्वास डङ्गोलको छ । उनले भने, “दानपर्वमा यही नै वस्तु चढाउनुपर्छ भन्ने कुनै विशेष नियम र बाध्यता छैन ।”

यसैगरी पाटन सुन्धारा वडा नं ७ का ६१ वर्षीय राजकाजी महर्जनले आफूले कमाएको केही पैसा र अन्न यस पर्वमा दान गर्दा झन बढी श्रीवृद्धि हुने बताए । उनले आफ्नो परिवारमा सुख शान्तिको कामना गर्दै आजको यस सम्यक पर्वमा केही रकम अर्पण गरे ।

ललितपुर–१६ नागबहालमा बुधबारदेखि सो पर्व चलिरहेको छ । पाटनको हिरण्यवर्ण महाविहार क्वाबहालको आयोजनमा उक्त ‘इतिल्हने सम्यक महादान पर्व २०७६’ अघि बढेको हो ।

यस पर्वमा डङ्गोल र महर्जनका अतिरिक्त ठूलो मात्रामा दान लिने र दिने हजारौँ श्रद्धालु भक्तजनको भीड लागेको छ । सो पर्वमा विशेष गरी बौद्ध धर्मावलम्बीले आफ्ना परिवारको सुख र शान्त्तिको कामना गर्ने गरेका छन् ।

यो पर्वमा १२६ दीपङ्कर बुद्धको मूर्ति ठाउँठाउँमा राखेर दान दिने र लिने काम भइरहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताए ।

उनले भने, “यो पर्वमा नेवार तथा बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरु र पाटनमा रहेका १५ वटा बहालका साथै चोभार, बुङ्मती र कीर्तिपुरसमेतका तीन गरी १८ बहालको बुद्धका मूर्ति तथा देवदेवताहरु जस्तै दीपङ्कर बुद्ध, अवलोकितेश्वर, वसुन्धरादेवी र आर्यतारालाई एकै स्थानमा विराजमान गराई दान लिने र दिने काम ७०० वर्ष पहिलेदेखि नै शुरु गरिँदै आएको हो ।”

राजा भाष्करदेवका सन्तति ‘भरिभारो’ नामक व्यक्तिले आफ्नो दरिद्रता लुकाउन गाईको गोबर जम्मा गर्ने गरेका थिए । भरिभारोको धर्मप्रतिको आस्था र समर्पणले गर्दा सङ्कलित सबै गोबर एक दिन सुनमा परिणत भएको र त्यो सम्पतिको प्राप्तिपश्चात उनले यस सम्यक महादान पर्व आयोजना गरेका हुन् भन्ने कथन रहिआएको छ ।

महाविहारका २० रथवीर आजु र १० पारमिता आजु मिलेर सल्लाह गरी गरेका दानलाई सम्यक महादान भनिएको धाख्वाले बताए ।

यो पर्वमा मुलुकका विभिन्न स्थानबाट दान लिन भिक्षु पाटनमा आएका छन् । विसं १८६१ सम्म यो पर्व प्रत्येक वर्ष मनाउने गरिन्थ्यो भने १८६२ सालदेखि सम्यक गुठीको आयस्तर कम हुँदै गएपछि चार वर्षको आयस्तर जम्मा गरेर पाँच वर्षमा पर्व मनाउने निर्णय भएको बताइएको छ । विसं १८६२ देखि हरेक पाँच वर्षमा फागुन तृतीया र चतुर्थीका दिन यो पर्व मनाउने गरिएको छ ।

यो पर्वको पहिलो दिन पाटनका राजोपाध्यायबाट मध्यराति १ देखि २ बजेसम्म वेद पाठसमेत गर्ने गरिएको समितिका महासचिव राम शाक्ले बताए ।

पर्वमा विशेष गरी चामल, पैसा, धान, पाकेका रोटी, सखर, धूप, चकलेट आदि वस्तु लोभमुक्त तथा त्यागको भावना जगाएर र स्वच्छ मनले दान गरिन्छ । पर्वमा करिब ४० देखि ५० हजार भक्तजनले अवलोकन तथा दान गर्ने अनुमान गरिएको समितिले जनाएको छ ।

सम्यक दान पर्वलाई अघि बढाउन विभिन्न दाताबाट ९-१० लाख रुपैयाँ चन्दा सङ्कलन भएको छ । सो पर्व सञ्चालन गर्ने समितिमा हाल पाँच हजार बढी पुरुष सदस्य छन् । पर्वमा उठेको रकम र खाद्यान्न आदि सबै वस्तु भिक्षुले आआफ्ना घर लगी सेवन गर्ने चलन छ ।  पर्वमा उठेको यावत् सामग्री भिक्षुले समितिलाई दिनुपर्ने कुनै बाध्यता नरहेको बताइएको छ ।


तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि