बौद्ध धर्म का अस्वाभाविक र असाधारण कुराहरू

बुद्ध र बौद्ध धर्मका सम्बन्धमा कतिपयमा यस्तो बुझाइ रहेको पाइन्छ- सबैका बेग्लाबेग्लै नाम भए जस्तै प्राचीन कपिलवस्तु निवासी एक व्यक्ति को नाम बुद्ध थियो । उनी अरु जस्तै एक सामान्य मानिस विए। अध्ययन र चिन्तन-मनन गरी प्राप्त ज्ञानलाई नै मान्छेहरुले धर्मका रूपमा लिएका हुन । पछि उनी भगवान नै बनाइए। वास्तवमा यो धर्म होइन, धर्मभीरुहरूले धर्म बनाएको मात्रै हो। उनले झगडा नगर्नु भन्ने ज्ञान दिएका थिए, शान्ति को सन्देश दिएका थिए। तर, मान्छेहरू झगडै गरेर बसेका छन्। वर्तमान विश्व युद्ध र झै-झगडाले ग्रस्त छ। बुद्धले दिएको शिक्षा ग्रहण गरेको भए यसरी झै-झगड़ा वा युद्ध हुँदैनथ्यो। तसर्थ तिमीहरूका लागि बुद्ध शिक्षा अझै पनि प्रासंगिक छ,…जरुरी छ। बुद्ध र बौद्ध धर्मलाई विभिन्न दृष्टिकोण बाट हेर्ने, चिन्तन-मनन गर्ने र आ-आफ्नो बुझाई अनुसारको अभ्यास बुद्धकै बेला देखि आजपर्यन्त जारी छ। कसैले धेरै कसैले थोरै, तर आफ्नो गच्छे अनुसार बुद्ध र बौद्ध धर्मका बारेमा जान्न र बुझ्न चाहने जिज्ञासुहरू संसार भर प्रशस्त मात्रामा छन। बुद्ध र बौद्ध धर्म का सम्बन्धमा सामान्य जानकारी मात्रै राख्नेले पनि यो लेखको शुरुमा उल्लेख गरेको बुझाईलाई ठाडै अस्वीकार गर्छ। यस्तो हुँदाहुँदै पनि माथि उल्लेखित उत्तर अनाधीकृत बुझाई अनुसार नै औपचारिक तथा अनौपचारिक सभा सम्मेलनमा बुद्ध र बौद्ध धर्मको व्याख्या गरि टोपल्नेहरूको कमी नहुनु उदेकलाग्दो कुरा हो। यों कोटीको बुझाईलाई लिपिबद्ध गर्ने हो भने सूची लामो नै बन्छ। तीं लालबुझक्कडलाई बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सही जानकारी दिनु एउटा चुनौतीको विषय भएको छ। साथसाथै, बुद्ध र बौद्ध धर्म का सम्बन्धमा संवेदनशील भएर बुझ्न चाहने र बुझ्न प्रयत्नशील भइरहेका जिज्ञासुहरू अनेकौं व्याख्या तथा अपव्याख्याका कारण रनभुल्लमा पर्ने अवस्था पनि विद्यमान छ। बौद्ध धर्म दर्शन भित्रै विभिन्न सम्प्रदाय भएको र आफ्नो रुचि भएको विषयवस्तुलाई मात्र प्राथमिकतामा राखेर हिंड्दा सर्वसाधारण जिज्ञासु यसरी रनभुल्लमा पर्नु स्वाभाविक हो।यीं सम्प्रदायहरु एकले अरुको खण्डन मात्रै गर्दैनन्, खेदो नै खन्छन। अझ एकले अरूलाई आक्षेप लगाउन पनि पछि पर्दैनन । यहाँ ती जम्मै कुराको उल्लेख सम्भव छैन । तर, यस्ता बुझाईका सम्बन्धमा छलफल गर्नु नितान्त आवश्यक छ। यहाँ सर्वसाधारणका लागि असाधारण र अस्वाभाविक लाग्नेकुराहरुका सम्बन्धमा केही छलफल गरिएको छ।

बुद्ध कुनै व्यक्ति विशेष का नाम नभएर सम्पूर्ण रुपमा जागरुक, सबै प्रकारका क्लेशलाई हटाइसकेर दुःखरुपी जन्म र मृत्युको चक्रबाट स्वतः मुक्त भएका अर्थात् अब फेरि जन्म लिनु नपर्ने भइसकेकालाई दिइने विशेषण हो। यसलाई पद पनि भन्न सकिन्छ। यो पद पाउने अनेकौं मध्ये एक गौतम बुद्ध (इ.पु. ५६३-४८३) पनि हुन् । उनले बताएर थाहा हुन आएका अतीतका बुद्धहरूको संख्या २७ र भविष्यमा पनि यसरी नै बुद्धत्व प्राप्त गर्नेहरु हुन्छन्। यति जानकारी पनि पचाउन नसकेर बुद्धलाई अलौकिक बनायो, बौद्धलाई विगार्ने बौद्धहरू नै हुन भनेर पण्डितयाँई छाँट्नेबाट बुद्ध र बौद्ध विषयवस्तुमा रुचि राख्नेहरुलाई सतर्क भई एउटा दूरी बनाउनुपर्ने नै हुन्छ। सामान्यतः थेरवादी नामको एउटा बौद्ध सम्प्रदायले महायानी नामक अर्को सम्प्रदाय माथि लगाउने आक्षेप हो, गौतम बुद्धलाई अलौकिक बनायो। थेरवादीले महायानी माथि जसरी र जुन शब्दमा आक्षेप लगायो, त्यही शब्द र शैली तथा तर्क अगाडि सारेर स्वयं थेरवादी कै पनि आलोचना गर्ने ठाउँ प्रशस्त मात्रामा उपलब्ध छ। बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सामान्य जानकारी पनि नराख्ने वा भौतिकवादीले आजसम्म गर्दै आएको पनि यही हो । सर्वसाधारणलाई अचम्म लाग्ने तथा आफ्नो बलबुट्टाले नभ्याउने कुरा हुनासाथ अन्धविश्वास, कपोलकल्पित, अलौकिक आदि शब्दले सम्बोधन गर्नु आफ्नै कमी-कमजोरीलाई छोप्ने राम्रो तरिका होला| तर, यसले धर्मदर्शनको अध्ययनमा मदत गर्दैन । गौतम बुद्धको जिवनीमा ध्यान दिने हो भने बोधिसत्वको गर्भप्रवेश बारे मायादेवी ले देखेको स्वप्न के हो ? बोधिसत्व तुषित देवलोक बाट सेतो हात्तीका रुपमा मायादेवीको गर्भमा प्रवेश गरेको कुरालाई थेरवादीहरु नकार्दैनन् । स्वप्नफल बताउने क्रममा कौडन्यले भने जस्तै शिशु सम्यक्सम्बुद्ध नै बने। सिद्धार्थ गौतम बुद्ध को गृहस्थ नाम)ले जामुन को रुखमुनि प्रथम ध्यान लाभ गरेको र रुखको छाँया स्थिर भइरहेको थियो। कसैका लागि असामान्य र अलौकिक लाने कुरा थेरवादीलाई आपत नहुनु तर महायानीहरूले यस्तै अन्य कुरा गर्दा आपति हुनु उदेकलाग्दो कुरा हो। अरू त अरू, सामान्यजनका लागि बोधिसत्व र बुद्धत्व प्राप्ति जस्ता कुरा नै अलौकिक तथा आपत्तिजनक कुरा हुन्छ। स्वर्ग, नर्क, पाप, धर्म, पूर्वजन्म, पुनर्जन्म आदि विषयवस्तुलाई अवैज्ञानिक तथा कपोलकल्पना मान्नुको अर्थ बुद्धले झुट बोलेको र बौद्ध धर्म पनि अवैज्ञानिक भएको धारणा बनाएर बस्नु हो । प्राणी को मृत्यु सँगै उसको चित्त (मन, विज्ञान) अर्को जन्मका लागि अन्यत्र नै लाग्छ र पुनः जन्मको प्रक्रियामा जान्छ भन्ने अवधारणा बौद्ध मतवादी को छ। नदेखेको कुरा कसरी पत्याउनु ? भनी तर्क गरेर अस्वीकार गर्न तथा अवैज्ञानिक भनि हाँसोमा उडाउन त सकिएला तर, सबै कुराको ज्ञानले परिपूर्ण भइसकेको र सिक्नुपर्ने कुरा बाँकी नरहेको भनी प्रमाणित गर्न सकिन्छ कि सकिन्न भन्ने प्रश्नको जवाफ पनि दिनुपर्ने हुन्छ । आफूले नदेखेको भन्दैमा त्यो कुरा छँदै छैन भनेर जिद्दी गर्नु भनेको अमेरिकामा म गएको छैन, मैले देखेको छैन तसर्थ संसारमा अमेरिका भन्ने देश छँदै छैन भन्नुजस्तै हो । दर्शनको क्षेत्रमा बौद्ध मतवादीहरू प्रमाण का रूपमा अप्रत्यक्ष र अनुमान गरी दुई वटालाई मात्र मान्छन। प्रत्यक्षको आधारमा अनुमान प्रमाणले काम लिने हो। अन्य मतवादीले शब्द प्रमाण लाई ठाउँ दिएपनि बुद्धले दिएका छैनन्।

बुद्ध र बौद्ध धर्म दर्शनको अध्ययन गर्दा अनेक प्रसंग घरिघरि निस्किरहेको हुन्छ, जसलाई बुझ्न प्रत्यक्ष प्रमाण मात्रै पर्याप्त छैन। भौतिकवादीहरु प्रत्यक्ष बाहेक अरु प्रमाण मान्दैनन् । श्रमण गौतमले वैशाख पूर्णिमाको रात एकैबाजी बुद्धत्व लाभ गरेका थिएनन। उक्त रात को प्रथम प्रहरमा क्रमशः ध्यानको द्वितीय, तृतीय र चतुर्थ अवस्था प्राप्त गरेका थिए। यसरी समाहित चित्त, परिशुद्ध निर्मल, क्लेशरहित भई मृदु भएपछि तथा कर्मण्य भई निश्चल भएपछि पूर्वानुस्मृति ज्ञान प्राप्त भयो । यो पूर्वजन्मको कुरा थाहा हुने ज्ञान हो। अनि अनेक प्रकारका पूर्वजन्मका कुराहरू अनुस्मरण गरे, जस्तै: एक जन्म, दुई जन्म…। साकार उद्देश्यसहित अनेक प्रकारका पूर्वजन्मका कुरा अनुस्मरण गरे। जसबाट अविद्याबनष्ट भयो, विद्या उत्पन्न भयो। तमः (अन्धकार) नष्ट भई आलोक उत्पन्न भयो। यसपछि सत्व (प्राणी)हरु च्युत र उत्पन्न हुने ज्ञानतिर श्रमण गौतमले आफ्नो चित्त झुकाए। अनि मनुष्य चक्षु भन्दा टाढा पुग्नसक्ने विशुद्ध दिव्य चक्षुद्वारा च्युत र उत्पन्न भएको तथा आफ्नो कर्म अनुसार हीनप्रणीत सुवर्ण दुर्वर्ण, सुगति दुर्गतिमा गईरहेका प्राणी हरु देखे। यसरी अप्रमत्त भई क्लेश सन्तप्त गरिरहँदा रातको द्वितीय प्रहरमा च्युत्योत्पत्ति अर्थात् जन्म र मरणको ज्ञान प्राप्त भयो। त्यसपछि आस्नवक्षय ज्ञान चित्त लगाए। यो आस्नवसमुदय हो र यो आस्नवनिरोध मार्ग हो भनी यथार्थतः बुझेपछि कामास्नव, भवास्नव र अविद्यास्नवबाट पनि उनको चित्त विमुक्त भयो। यसपछि मात्रै विमुक्त भएँ, जन्म क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नुपर्ने काम गरिसकें र अब उपरान्त यहाँ आउनु पर्ने कारण छैन भन्ने बुझे। तेस्रो प्रहरमा आस्नवक्षज्ञान प्राप्त गरी हेतुज्ञान प्राप्त गरे। र चौथो प्रहरमा पुग्दा सम्पूर्ण आस्नव नाश भईसकेको थियो र निर्वाणधातुबोध भइसकेको हुँदा बुद्धत्व लाभ भयो। बुद्धले बेला बेलामा ऋद्धिप्रातिहार्य प्रदर्शन गर्ने गरेको पाइन्छ। सामान्यजनका लागि असामान्य, कपोलकल्पना तथा अलौकिक लाग्ने यो यथार्थत: विद्यमान थियो । ऋद्धिको यो क्षमताका लागि बुद्धत्व लाभ को चरणसम्म पुगिराख्नु जरुरत नभएको कुरा अर्हत पद प्राप्त गर्ने भिक्षु भिक्षुणीहरुले पनि मज्जाले ऋद्धिप्रातिहार्य प्रदर्शन गरेबाट बुझ्न सकिन्छ। जो मान्छे ध्यान नै गर्दैनन, ध्यान लाभ नै गरेका छैनन उसले ध्यानको उच्चतामा पुग्ने कल्पनासम्म पनि गर्न सक्दैन। अर्हत्वको यात्रासम्म पुग्ने क्रममा ‘बाई प्रोडक्ट’ को रुपमा प्राप्त हुने ऋद्धि क्षमतालाई हुँदैनहुने कुरा कपोलकल्पना वा अलौकिक भनी टिप्पणी गर्दै बस्नु र त्यसका आधारमा अनेक लान्छना लगाएर बस्नु भनेको अंगूर अमिलो भन्ने कथा जस्तै हो। संसार भनेको यो पृथ्वी वा हामीले देख्दै आएको सौर्य मण्डल मात्र होइन, बौद्ध धर्म दर्शन अनुसार। असंख्य इन्द्र, ब्रह्मा तथा अनेक देवपुत्र तथा देवपुत्रीहरू अनेक लोकमा विद्यमान छन्। गोचर तथा अगोचर सत्वहरुले काम गरिरहेका पनि हुन्छन। बुद्धले पृथ्वीमा सर्वसाधारणलाई धर्म उपदेश दिईरहेकै बेला विभिन्न लोकबाट आएका सत्वहरूलाई पनि साथसाथै उपदेश गरिरहेको भन्ने प्रसंग पनि पाइन्छन। बुद्धकट विभिन्न मुद्रालाई तीं देवता प्रति लक्षित सांकेतिक भाषाका रूपमा बुझ्न सकिन्छ। धर्म एउटै भए पनि थेरवादीहरुको भन्दा महायानीहरुको साधना अलि फरक र जटिल हुनु स्वाभाविक हो। यस अनुसार थेरवादी को भन्दा अन्यको साधना पद्धती वा कामकुरामा अलि बढी आश्चर्यजनक कुराहरु पाइनु पनि स्वाभाविक मान्नुपर्छ। थेरवादीहरुले गर्ने कामकुरा वा उनीहरुका विश्वासलाई महा्यानीहरू स्वाभाविक र अनिवार्य नै मान्नुको अर्थ हो, ज्ञान र क्षमताको घेरा बेग्लाबेग्लै हो। यस अवस्थामा अनावश्यक टीकाटिप्पणीले समय की बर्बादी मात्रै गर्ने हो। यसलाई संक्षेपमा भन्ने हो भने, हामी प्राथमिक तहको विद्यालयमा अध्ययन गर्दै गरेको अवस्थामा उच्चशिक्षा हासिल गरेर अध्ययन- अनुसन्धानमा तल्लीन मानिसहरूको कुरा तथा कुरा गराई पनि अलौकित र अस्वाभाविक नै लाग्ने हो।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि