निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

कनकमणि बुद्ध आगमन भइसकेका ४ बुद्ध मध्ये दोस्रो हुनुका साथै सप्त विर बुद्ध मध्ये पाँचौं र बुद्धवंशमा उल्लेखित उनन्तीस बुद्ध मध्ये छब्बीसौंको रुपमा पनि चिनिनुहुन्छ। अन्य चारवटा मध्ये पहिलो क्रकुच्छन्द बुद्ध हुनुहुन्छ भने तेस्रो काश्यप र चौथो स्वयं शाक्यमुनि अथवा गौतम बुद्ध हुनुहुन्छ। साथै आगामी बुद्धका रूपमा मैत्रीय बुद्ध लाई चिनिन्छ।

उहाँ निग्लीहवाबाट ३ किलोमिटर दक्षिण-पश्चिम तर्फ शोभावतीमा अवस्थित सुभगवती उद्यानमा बुधबारका दिन जन्मिनु भएको उल्लेखित पाइन्छ जुन ठाउँलाई अहिले अरौराकोटको नामले चिनिन्छ।

निग्लिहवा अथवा निग्लिसागर लुम्बिनीबाट २० किलोमिटर उत्तर पश्चिमतर्फ र तौलिहवाबाट सात किलोमिटर उत्तरपूर्व तर्फ अवस्थित रहेको छ।

यस ठाउँलाई कनकमणि बुद्धको जन्मस्थल मानिने मुल आधार निगलिहवामा स्थापित गरिएको अशोक स्तम्भमा ब्राह्मी लिपि द्वारा लिखित अक्षरहरु हुन, जसमा लेखिएको छः 

“महाराजधिराज प्रियदर्शिनले आफ्नो १४औं शासनकालमा कनकमणि बुद्धको चैत्यलाई दोस्रोपटक सम्वर्दित गर्नुभयो र आफ्नो २०औं शासनकालमा स्वयं पाल्नु भई श्रद्धा अर्पण गर्नुभयो र ढुङ्गे स्तम्भ स्थापना गर्नुभयो।”

Brahmi Script in the Ashoka Pillar of Niglihawa

सम्राट अशोकले स्थापना गर्नुभएका ४ बुद्धका ४ स्तम्भ मध्ये निग्लिहवामा ईसा पूर्व २४९ मा आएर स्थापना गर्नुभएको उपलब्ध प्रमाणहरूले साबित गर्दछ। 

र सातौं शताब्दीका चिनी बौद्ध भिक्षु xuanjang जसले १७ वर्षसम्म भारत भ्रमण गर्नुभयो, उहाँका अनुसार कनकमणि बुद्धको अस्तुहरु यही निगलिसागर मा अवस्थित चैत्यमा राखिएको थियो।

आदा जमिनमै गढेको र केहि फुटेको अवस्थामा रहेको यस स्तम्भलाई नवनिर्मित भवनको आँखिझ्यालहरु बाट  हामी यसरी तेर्सो ढलेको अवस्थामा अवलोकन गर्न सक्छौं र बाहिर बाट नियाल्नु बाहेक भित्रै गएर यसलाई छुन भने अनुमति दिइएको छैन। 

साथै स्तम्भ राखिएको यस भवनको छेउँमै एउटै पर्खाल भित्र अर्को एउटा मन्दिर अथवा भवन देख्न सक्छौं जसको भित्र कनकमणि बुद्धको मूर्तिलाई उठेको अवस्थामा दर्शन गर्न सक्छौं। कनकमणि बुद्धको पहिँचान, अस्तित्व, गरिमा र स्मृति कायम गर्नको लागि र दर्शनार्थीहरुको सहजताका लागि यसको निर्माण ललितपुर-१६ निवासी वेखाराज शाक्यको परिवारले वि.सं २०५९ मा गरेका रहेछन। मूर्ति मुनि स्थापित गरिएको शिलापत्रमा उक्त मूर्ति र मन्दिर को ऐतिहासिक विवरण र कनकमणि बुद्धको संक्षिप्त गाथा पनि पढ्न पाइन्छ।

तसर्थ सम्बन्धित निकायले यसलाई अझै पनि यथासक्य सम्बर्द्धन प्रवर्द्धन गर्न आवश्यक छ भने स्वदेशी तथा विदेशी पर्यटकहरु र धार्मिक तीर्थयात्रीहरू ले पनि लुम्बिनी भ्रमणको प्रक्रियामा भगवान कनकमणि बुद्धको यस पवित्र तीर्थस्थल निग्लिहवामा पनि दर्शन अवलोकन गर्न अत्यन्तै उपयुक्त हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here