बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात:

यो विशाल पृथ्वीमा हजारौं बर्ष अघिदेखि मानव प्राणीहरूको सृष्टी भएको पाइन्छ । तर, पृथ्वीको सबै क्षेत्रमा सबै समय महापुरुषहरू जन्मिएको पाइँदैन । जुन समय, जुन क्षेत्रमा महापुरुषहरू जन्मेका पाइन्छन् तिनीहरूले पनि विश्वव्यापी प्रभाव पार्न सकेको देखिदैन । जस्ले विश्वव्यापी प्रभाव पारेर ज्ञानको ज्योति प्रदान गरेका हुन्छन् त्यस्ता व्यक्तिलाई हामीले ‘महापुरुष’ भन्ने गरेका छौं । यस्तै व्यक्तित्व मध्येका हाम्रो पवित्र देश हिमालयको काखमा जन्मेका सिद्धार्थ गौतम एक व्यक्तित्व हुन्, जसले आफ्नो जीवनको उनन्तीस बर्षदेखि पैंतीस बर्षसम्म, करीव ६ बर्ष कठोर तपस्या र ध्यान गरेर प्राप्त गरेको बुद्धत्व वा ज्ञान-ज्योतिलाई धर्मोपदेश गरेर लोककल्याणमा आफ्नो जीवन उत्सर्ग गरेका थिए। सम्यक सम्बुद्ध भएका ती महापुरुषलाई हामीले ‘भगवान बुद्ध’ भन्ने गरेका छौं । उनलाई आजको विश्वले ‘एसियाका ज्योति’ पनि भन्ने गरेका छन्।

बोधगयामा ज्ञान प्राप्त गरेर धर्मोपदेशको निम्ति सारनाथ सम्मको पैदल यात्रा गर्दा मार्गमा भेट भएका उपक-परिव्राजकले भगवान बुद्धको उज्वल कान्तियुक्त अनुहार देखेर प्रश्न गर्छन्- ‘आयुष्मान तिम्रो इन्द्रियहरु प्रसन्न छन् । अनुहार कान्तियुक्त उज्वल छ। तिमीले कसलाई गुरु मानेर प्रव्रजित भयौ ? तिमी कस्को धर्म मान्दछौं ?

भगवान बुद्धले जवाफ दिए – ‘मेरो आचार्य छैन । म वरावर कोही छैनन् , देवता सहित सारा लोकमा मेरो समान पुरुष छैन । म संसार मा अर्हत हुँ, पूर्व शास्त्र हुँ। म सम्यक सम्बुद्ध शीतल तथा निर्वाण प्राप्त हुँ । धर्मचक्र प्रवर्तन गर्नको लागि काशीनगरमा जाँदैछु । म जिन हुँ।’ भगवान बुद्धले उपक-परिव्राजकलाई आत्मविश्वासका साथ जवाफ दिए। उपक-परिव्राजकले त्यसमा समर्थन जनाए।

यसपछि भगवान बुद्ध सारनाथमा गएर पञ्चवर्गीय भिक्षुहरू समक्ष आफूले प्राप्त गरेको ज्ञानकाबारेमा विश्वास दिलाउँदै आफूले मध्यम मार्ग पत्ता लगाएको र यसले मानवको आँखा खोल्ने, ज्ञान दिने र शान्ति, अभिज्ञान र सम्बोधि दिएर अन्तमा निर्वाण प्राप्त गर्नेछ भनेर अष्टांगिक मार्गका बारेमा र चार आर्य सत्यका बारेमा अवगत गराएपछि पञ्चवर्गीय भिक्षुहरूले भगवान बुद्ध लाई अभिनन्दन गरे। अनि क्रमशः कौण्डिन्य, वप्प, भद्दिय, महानाम र अस्सजिहरूले विरज, विमल, धर्मचक्षु प्राप्त गरे। यसरी भगवान बुद्धले तिनीहरूलाई ‘भिक्षु आउ’ भनी प्रव्रज्या उपसम्पदा दिलाएपछि छ जना अर्हत का साथ पहिलोपल्ट बुद्ध धर्मको संघ स्थापना गरियो । त्यही समयदेखि – बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि, संघम् शरणम् गच्छामिको प्रतिज्ञा पनि शुरूभयो । पञ्चवर्गीय भिक्षुहरु ब्राह्मण थिए । बुद्ध धर्मको स्थापना ब्राह्मणहरूद्वारा शुरू भएको थियो।

२. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः

भगवान बुद्ध ब्राह्मण विरोधी थिए, यहाँ सम्म कि उनले संस्कृत भाषामा बुद्धका उपदेश र धर्म शिक्षा दिनुपर्छ भन्दा पनि सर्वसाधारणले बुझ्ने पाली भाषामा नै बोल्ने र लेख्ने गर्नुपर्छ भन्ने विषयलाई महत्व दिएका थिए भन्ने पनि पाइन्छ । यो त सत्य नै हो कि बुद्धका धर्मदर्शन पाली भाषामा नै अभिलेख भएका पाइन्छन् । ‘धम्मम् शरणम् गच्छामि’ यो एउटा उदाहरण हो । एहि भिख्खवे (भिक्षु आउ) यो पनि पाली भाषा कै शब्द हो। तर सम्यक सम्बुद्ध पदबाट विभुषित भगवान बुद्ध जनश्रुति अनुसारका संकुचित स्वभावका भने थिएनन् । उनको दृष्टिमा सबै समान मानिन्थे।

सनातन वैदिक धर्म सँग बुद्ध को मतभिन्नता थियो, कारण बैदिक धर्मावलम्वीहरू ईश्वरवादी थिए भन्ने बुद्ध प्रकृतिवादी थिए। ‘आफ्नो धर्मको प्रवर्तक आफै हूँ भन्ने बुद्धले वैदिक धर्म नमान्नु स्वभाविक थियो । बुद्ध वर्णाश्रम धर्म मान्दैनथे । यज्ञयागादी गर्दैनथे। मूर्तिपूजामा उनको सम्बन्ध थिएन । आफ्नो धर्मलाई बुद्ध ‘मध्यममार्ग’ भन्दथे । ज्ञान प्राप्ति बुद्ध-धर्मको मूल विषय थियो । निर्वाण प्राप्ति अन्तिम उद्देश्य मानिएको थियो। आर्य अष्टांगिक मार्ग द्वारा मन वचन र कर्मलाई विशुद्ध पारेर सांसारिक दुःख कष्टबाट मुक्ति पाउन सकिन्छ भन्ने बुद्ध उपदेशहरू पाइन्छ। भगवान बुद्ध आत्मामा विश्वास नगर भन्दथे, पञ्चतत्वमा पृथ्वी, जल, तेज, बायु बाहेक आकाशतत्व बुद्धले मान्दैनथे।

बौद्ध-धर्ममा बुद्धको समयदेखि पछिसम्म पनि धेरै ब्राह्मणहरू प्रवेश गरेका थिए। उज्जैनका राजपुरोहित महाकात्यायन, ब्राह्मण राघव, राजगीर, मगध ब्राह्मण, मगध, वेरज्जा ब्राह्मण, बेरञ्जा, शैल ब्राह्मण, जाणुस्सोणि ब्राह्मण, अस्सलायन ब्राह्मण, भारद्वाज, वशिष्ट ब्राह्मण, चंकी ब्राह्मण, कुरदन्त ब्राह्मण, शोणदत्त ब्राह्मण, द्रोण ब्राह्मण, सारीपुत्र ब्राह्मण, उपसेन ब्राह्मण, कुण्डधान ब्राह्मण आदि अनेकौं ब्राह्मणहरू भगवान बुद्धको बर्षाबासको समयमा प्रव्रजित भएका पाइन्छन् । यसरी नै महापन्थ र चुल्लपन्थ दुई दाजुभाइले पनि बौद्ध धर्ममा प्रवेश गरेर थोरै समयमा अरहन्त पद प्राप्त गरेका थिए भने गोणु पन्त भगवान बुद्धका अन्तिम शिष्य थिए। बौद्ध धर्मको सुरूमा नै स्वयम भगवान बुद्धबाट प्रव्रजित भएका पञ्चवर्गीय भिक्षु सबै ब्राह्मण थिए। भगवान बुद्धले निर्वाण प्राप्तगरेपछि आस्थिधातुमा एकलौटी अधिकारराख्ने राजाहरूको विवादलाई सम्झाएर सबैलाई आठ भागको एक भाग बाँडि दिने पनि द्रोण ब्राह्मण नै थिए। यसबाट के थाहा हुन्छ भने न भगवान बुद्ध ब्राह्मण विरोधी न त ब्राह्मण हरु नै भगवान बुद्धका विरोधी थिए । अझ भगवानकाे निर्वाण पछि इसाको प्रथम शताब्दीमा अश्वघोषले ‘बुद्ध चरित्र’ महाकाव्य संस्कृत भाषामा लेखे भने तिब्बत र चीनमा बुद्ध धर्म प्राचार गर्ने विद्धान ब्राह्मण नै थिए । विद्वान नागार्जुनले बुद्ध-धर्मलाई सरलिकरण गरेर महायान सम्प्रदायको दर्शन संस्कृत भाषामा लेखेर विश्वप्रसिद्ध गराएका छन् ।

३. ब्राह्मण हरूप्रति भगवान बुद्धः

भगवान बुद्धको समय ब्राह्मणहरु आफ्नो आचारबाट पदच्यूत हुँदै कर्मकाण्डको माध्यमबाट अर्थ उपार्जन गर्ने कार्यमा समेत बदनाम भएर लोकको दृष्टिमा श्रद्धाविहीन भएका थिए भन्ने अभिलेख पाइन्छ । यस्ता बाह्मणहरूले बुद्ध धर्मको पनि उपेक्षा गर्ने हुनाले ब्राह्मण धर्मलाई सजग गराउन भगवान बुद्धले विभिन्न समय प्रसंगवस केही ब्राह्मणसॅंग र कहिले भिक्षुहरूसँग धर्मदेशना गर्दा भनिएका शब्द वा उपदेशहरू `धम्मपद ‘को ब्राह्मण वर्गमा समावेस भएको पाइन्छ । उक्त उपदेशहरूका केही अंश यहाँ उद्धरण गर्न प्रासंगिक हुनेछ।

(क) हे ब्राह्मण, तृष्णाको श्रोतलाई काट, पराक्रम देखाएर काम वासनालाई नाश गर । हे ब्राह्मण, संस्कार सबै क्षय गरेको जानेर अकृत (निर्वाण) साक्षात्कार गर। – जेतवन (ब्राह्मण समक्ष)

(ख) काय, वाक, चित्त तीनै द्वारबाट पाप नगर्ने, तीनैमा सयमी व्यक्तिलाई म ब्रह्मण भन्दछु। – जेतवन (महाप्रजापति गौतमी)

(ग) चर अचर कुनै प्राणीमा प्रहार नगर्ने, कसैलाई नमार्ने र हिंसा गर्नमा प्रेरणा नदिने व्यक्तिलाई म ब्राह्मण भन्दछु ।-जेतवन (एक भिक्षु)

(घ) जसको यसलोक र परलोकमा कुनै आशा छैन, जो आशारहित सयोगरहित व्यक्ति हो, उसैलाई म ब्राह्मण भन्दछु। – जेतवन (सारीपुत्रसँग)

(ङ) जसले कसैलाई पनि पीडा दिदैंन, जसले कडा बोली बोल्दैन, जसले कारण बताई स्पष्टरूपले सत्य प्रकाश गर्छ, त्यसलाई म ब्राह्मण भन्दछु । – राजगृह (एक स्थविरसँग)

सिद्धार्थ गौतम पहिले बोधिसत्व थिए । त्यसपछि क्रमबद्ध रूपमा सम्यक सम्बुद्ध भएका हुन् । बोधिसत्वको न्वारानको दिन राजा शुद्धोधनले १०८ ब्राह्मण बोलाई सुभोजन गराएका थिए। तिनै ब्राह्मण मध्येका कान्छा कोडञ्यले बोधिसत्व गृहत्यागी नै भएर सर्वज्ञ बुद्ध हुने घोषणा गरेका थिए । तिनै कोडञ्य पछि पञ्चवर्गीय भिक्षु मध्येका अग्रणी व्यक्ति भएका थिए । भगवान बुद्धको न्वारानको नाम सिद्धार्थ थियो । जन्मको तिथि ई.पू. ५६३ बैशाख पूर्णिमा र निर्वाण प्राप्ति ई.पू. ४८३ मानिन्छ ।

बुद्धकालीन समय भारतका राज्यहरू तीन मण्डल, पाँच प्रदेश र सोरह महाजनपदहरूमा विभक्त थिए। भगवान बुद्धले मध्यम देशमा भ्रमण गरेर उपदेश दिएका थिए । पूर्वमा कजंगला, पश्चिम मथुरा, उत्तर हिमालय का तलहरी, नेपालको तराई क्षेत्र र दक्षिणमा विन्ध्याचलको छेउछाउसम्म पुगेर आफ्नो समयमा बुद्धले आफ्नो धर्म दर्शन सर्वसाधारणलाई अवगत गराएका थिए । बुद्धको महापरिनिर्वाण पछि बुद्ध धर्म संघका विद्वान र भिक्षुहरूले बौद्ध धर्मलाई विश्वव्यापी रूपमा विस्तार गरेका छन् । बौद्ध-धर्म अहिले युग-सापेक्षा भएको छ।

४. बौद्ध-धर्म र ब्राह्मण धर्म

बौद्ध-धर्म भगवान बुद्धद्वारा प्रतिपादित सिद्धान्तमा आधारित छ। बनारसको सारनाथमा पञ्वर्गीय भिक्षुहरू समक्ष भगवान बुद्धले सर्वप्रथम जुन धर्मचक्र प्रवर्तन गरेका छन्, बौद्ध धर्मको मूल तत्व त्यसैमा समावेस भएको छ । बुद्धको परिनिर्वाण पछि अनुसंधानद्वारा, आधार ग्रन्थको रूपमा तयार गरिएका ‘ त्रिपिटक’लाई बुद्ध-धर्मको प्रामाणिक ग्रन्थका रूपमा मानिन्छ । बुद्धको महान व्यक्तित्व, जीवन-दर्शन र उपदेश त्रिपिटक भित्र समावेश गरिएको छ। यो संक्षिप्त लेखमा त्रिपिटक भित्र प्रवेश गर्न सम्भव छैन । धर्मचक्र प्रवर्तनसँग सम्बन्धित केही सूत्रमात्र यहाँ प्रकाश पार्न प्रयत्न गरेको छ।

पवित्रताको पथमा भगवान बुद्धले-प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुठो नबोल्ने, नशालु चीज ग्रहण नगर्ने, पंचशील बताएका छन् । अष्टांगिक मार्गमा बुद्ध परिव्राजकहरूले पालना गर्नुपर्ने उपदेशको विश्लेषण गरेका छन् । यसरी नै शील मार्गमा सदगुणको व्याख्या गरिएको छ। यसमा कूल दश सूत्र छन् । आफ्नो धर्मका सूत्रहरूलाई व्याख्या गरिसकेपछि परिव्राजकहरूलाई प्रश्न गरेर उनीहरूको समर्थन प्राप्त गरेपछि पाँच परिव्राजकले नयाँ धर्मको महत्व बुझे।

ब्राह्मण-धर्मको मूल कानून मनुस्मृति हो। स्वांयंभुव मनुलाई मानवहरूको आदिपुरुष मानिएको छ । श्रृष्टिक्रमको विकास हुँदै जाँदा बिना नियम कुनै समाज चल्न सक्दैन भन्ने आधारमा मनुस्मृतिको श्रृष्टी भएको पाइन्छ । यसमा व्यक्ति विशेषको आचार, नियम, राजधर्म र धर्मको उत्पत्ति स्थान मन, वाणी र शरीरलाई मानिएको छ। मनुस्मृतिका केही सूत्रहरू हेरौं – ‘अहिंसा (कसैलाई मन, वाणी र शरीरबाट दुःख दिन हुँदैन) सत्य बोल्नुपर्छ, चोरी गर्नु हुँदैन, पवित्रता र इन्द्रियहरूलाई निग्रह गर्नुपर्छ, यो सबैको निम्ति पालना गर्नुपर्ने धर्म हो। (मनुस्मृति, १०।६३) सत्य बोल, प्रिय बोल, यस्तो सत्य नबोल जो अप्रिय होस्, यस्तो प्रिय पनि नबोल जो असत्य होस् – यही सनातन धर्म हो ऐ.ऐ. ४|१३८ ।

तुलनात्मक रूपमा हेर्दा के नै फरक छ र बौद्ध धर्म र ब्राह्मण धर्मका मूल पद्धतिहरूमा । यही त हो धर्मको मूल तत्व । फरक के छ भने – मनुस्मृति बेद, उपनिषदमा आधारित ग्रन्थ हो । बुद्ध-धर्म भगवान बुद्धले स्वयं आत्मसात गरिएको अनुभवको सारतत्व हो। उक्त दुई धर्ममा समयको अन्तर धेरै छ । ब्राह्मणधर्म गुरु परम्पराबाट विकास हुँदै आएको छ । बौद्ध- धर्म, संघको माध्यमबाट साधना गर्दै अनुभवी बौद्ध-भिक्षुहरूबाट प्रव्रज्या, उपसम्पदा, प्रदान गर्दै अरहत्त, पद प्राप्त गरी ऋद्धिवान बनेर अन्तमा परमज्ञान प्राप्त गरी निर्वाण प्राप्त गर्नु हो । धर्मका मार्ग फरक भएपनि अन्तिम लक्ष एउटै विन्दुमा पुगेर अन्त हुन्छ । सबै नदीहरू समुन्द्रमा पुगेर विलिन हुन्छन् ।

साभार : धर्म चक्षु पत्रिका
स्रोत : भूपनिधि पन्त

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि