पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र शीलआचरण उत्तम मानिन्छ । यसमा लागेका महिलाहरूको इज्जत, सम्मान, प्रतिष्ठा र कदर वरद रूपमा भएको पाइन्छ । अतः यसलाई महिला मैत्री दर्शन पनि भनिन्छ । वुद्धको सम्बोधित ज्ञान प्रचार प्रसार गर्ने कार्यमा महिलाहरूको महत्वपूर्ण र ऐतिहासिक देन रहदै आएको छ । यस्ता प्रातः स्मरणीय प्राचीन महिलाहरूमा सुजाता, विशाखा, आम्रपाली आदिजस्तै सोणाको पनि नाम आउछ। तिनी को थिइन ? कसरी वुद्धसंघमा आइन् ? उनको प्रारम्भिक जीवन कथा यस्तो छ।

गौतम बुद्धलाई बुद्धत्व अर्थात् सत्य ज्ञान प्राप्त भए पछि उनले त्यसलाई जनतामा वाँड्दै हिड्न थाले । उनका कुराले मान्छेहरू हृदय देखिनै प्रभावित हुन्थ्यो। विशेष प्रभावित हुनेहरू बुद्धका पछि लाग्थे । तीमध्ये केही मान्छेहरू वीचवाटै फर्कन्थे भने केही चाँही चेला बन्थे । यिनै चेला मध्येका पनि अत्यन्त विश्वसनीय र नजीकका एक चेलाको नाम थियो आनन्द । उनी वुद्धवाणीका प्रमुख प्रचारक थिए । किनभने उनले बुद्धको दर्शन र बचनको मर्म आधारभूत रूपमा वुझेका थिए ।

एकपटकको कुरा हो । ज्ञान प्रचारकै प्रसङ्गमा आनन्द एउटा दुर्गम गाउँमा जाँदै थिए । बाटो अनकण्टार थियो । उनी लामो समयसम्म हिँड्दै रहे। गर्मीको समय थियो । मध्यान्न भइ सकेको थियो। उनी भोक, तिर्खा र गर्मीले ग्रस्त भएका थिए । यसमा पनि उनलाई तिर्खाले व्याकुल वनाएको थियो । यो पीडा जेनतेन समन गर्दै उनी अघि वढिरहेका थिए । जाँदै गर्दा बाटोमा अचानक एउटी किशोरीसँग भेट भयो। किशोरीले गाग्रीमा पानी लिएर आइरहेकी थिइन । पसिना चुहिरहेको किशोरीको अनुहार बाट अनुमान गर्न सकिन्थ्यो- उनले निकै टाढाबाट पानी लिएर आइरहेकी छन्। उनले गाग्री पिठ्यूमा बोकेकी र हातमा पानीले भरिएको लोहोटा समाएकी थिइन् । पानीका भाँडासहितकी ती किशोरीलाई देख्दा उनलाई साक्षात् मन्दाकिनी गङ्गा प्रकट भएजस्तो लाग्यो।

आनन्द किशोरीका नजिकै गए । एउटा भिक्षु महात्मालाई अचानक आफ्ना अगाडि देख्दा उनी वगिरहेको नदी पहाडले छेकेजस्तै शैलीमा रोकिइन् । आनन्दले उनी सँग अत्यन्त पीडित स्वर र आत्मीक शैलीमा भने- वहिनी म टाढाबाट आइरहेको छु। मलाई असाद्धै तिर्खा लागेको छ । पानी खान देऊ । आनन्द भिक्षु पोसाकमा थिए । उनको आग्रह सुॅंनेर किशोरी असाद्धै डराइन् । किनकी उनी चाण्डाल कन्या थिइन् । उनलाई थाहा थियो कि कुनै पनि उच्च जातका मान्छेले उनले छोएको पानी खान हुँदैन । अझ यिनी त महात्मा भिक्षु हुन् । पानीका लागि अनुरोध गरिरहेका छन्। उनी साहै आत्तिइन् । केही बोल्न सकिनन् र टाउको जमिनतिर निहुराएर दाहिने खुट्टाको बुढी औंलाले जमिन खोतल्दै चुपचाप उभिइ रहिन् ।

आनंदले अत्यंत दयनीय अर्थात् व्याकुल स्वरमा फेरि भने- बहिनी तिमीले सुनिनौ ? मलाई अत्यन्त तिर्खा लागेको छ। यसै कारणले मेरो सास फुस्कलाजस्तो भएको छ । दया गर वहिनी मलाई पानी खान देऊ। उनको तड्पित् स्वर सुनेपछि किशोरीले विस्तारै टाउको उठाएर भिक्षुका अनुहार तिर हेरिन् । केही भन्न खोज्दै थिइन् तर उनको मुखबाट कुनै शब्द वाहिर निस्कन सकेन । मात्र उनका कलिला र रसिला ओॅंठहरू विस्तारै हल्लिए ।

आनंदले किशोरीलाई नयाँ दृष्टिले हेरे । उनका हातमा पानीले भरिएको भाँडा छ। अनुहारमा सौहाद्रता, सुन्दरता र पवित्रता छ । यसैवाट अनुमान गर्न सकिन्छ कि उनको हृदयमा असीम करुणा छ तर पानी माग्दा दिइरहेकी छैनन् । यहाँ अवश्य पनि केही गहिरो कारण हुन सक्छ । यति सोचे पछि आनन्दले अत्यन्त मायालु र द्रवित स्वरमा सोधे- वहिनी तिम्रो खास समस्या के हो?

आनन्दको प्रश्न सुने पछि किशोरीले अत्यन्त सहृदयी भाव आत्मीय शैली र नम्र स्वरमा भनिन्- भन्ते मैले तपाईलाई कसरी पानी खान दिन सक्छु ? उनका कुरा सुने पछि आनन्दले अत्यन्त उत्सुकतापूर्वक सोधे- किन वहिनी ? मलाई पानी दिंदा तिमीलाई के समस्या पर्छ ? सवै भन्छन्- तिर्खालुलाई पानी खान दिँदा धर्म हुन्छ । किशोरी आसाद्वै असामन्जस्यमा परेजस्तो अवस्थामा पुगे तापनि विचवीचमा रोकिएर विस्तारै भनिन्- महासय म चाण्डाल कन्या हूँ । यहाँ जस्तो माथिल्लो जातलाई चाहेर पनि कसरी पानी खुवाउन सक्छु ? थपिन् – मलाई असाद्धै पीडा भएको छ । जातले गर्दा आफूसँग पानी भएर पनि एउटा तिर्खाएको सभ्य मानिसलाई पानी खुवाउन सकिरहेकी छैन । किशोरीका कुरा सुने पछि आनन्दले सरल शैलीमा भने वहिनी मैले तिमीसँग पानी मागेको छु , जातजाती मागेको छैन । थपे -मैले मागेको वस्तुको एउटै जात हो पानी । पानीको जात हुँदैन।

आनंदका कुराले चाण्डाल कन्याको कताकता भित्रिहृदयमा छोएजस्तो लाग्यो । उनले आनन्दलाई पानीको लोहोटा दिइन् । आनन्द लोहा भरिएको पानी तन्तनी खाए र चरम सन्तुष्टिको अनुभूति गरे । यो घटना थाहा पाए पछि गाउँलेहरू दुवै (पानी खान दिने र खाने) लाई धर्मछाडा घोषणा गरे। आनन्दलाई त्यसले कुनै प्रभाव पारेन । उनले मान्छे त के कुनै प्राणीमा पनि भेदभाव राख्दैनथे। चाण्डाल कन्या पनि वुद्धसङ्घमा लागिन् । पछि उनी सोणा साधिकाका नामबाट विश्व प्रशिद्ध भइन् । यसरी दुवै धर्मछाडाहरू सदा सदाका लागि अमर भए ।

साभार : धर्म चक्षु पत्रिका
स्रोत : भाष्कर

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि