नेपालमा थेरवाद र धर्मशीला गुरुमा

नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६ को अन्त्यतिर भारतबाट लुम्बिनीमा तीर्थयात्रा गर्न आएका चिनियाँ तीर्थयात्री व्हेनसाङको यात्रा वृत्तान्तमा कपिलवस्तुमा स्थविरवादको उल्लेखको साथै नेपाल उपत्यकामा तीन हजार जति थेरवादी भिक्षुहरु भएको वर्णन भएको पाइएतापनि काठमाडौं उपत्यकामा स्थविरवादको पुनः प्रवेश भने २० औं शताब्दीको प्रारम्भतीर भएको मान्न सकिन्छ । बालचन्द्र शर्माले ‘नेपालको ऐतिहासिक रुपरेखा’ पृ. १२३ मा ‘नेपालको भाषा बंशावली अनुसार शंकाराचार्यले बौद्धमार्गीहरूलाई लखेट्दै नेपाल पनि आए। यहाँ उनले भएभरका बौद्धहरूलाई पराजित गरेर हिन्दू धर्ममा दीक्षित गरे । बौद्ध भिक्षुणीहरुको जवरजस्ती विवाह गराइयो र उनीहरूलाई गृहस्थी हुनमा कर लगाइयो। यस अवसरमा शंकराचार्यले ८४ हजार बौद्ध ग्रन्थ पनि जलाइएको

कुरा वंशावलीमा उल्लेख छ’ भनी कइरन पत्रिकाले लेखेको छ। त्यस घटनाबाट थेरवाद भिक्षु-भिक्षुणीहरूको संघ विस्थापित भएको जनाएपनि निम्न उल्लेखित प्रमाणले १८ औं शताब्दी सम्म काठमाडौं उपत्यकामा भिक्षुहरु भएको अनुमान लगाउन सकिन्छ । नेपाल संवत् ५०० मा छलकपटद्वारा राजा भएका तिर्हुते जयस्थिति मल्लले नेपाललाई हिन्दू राज्य बनाउने हेतुले नेपाल संवत् ५१५ मा ब्राह्मण गुरू पुरोहितद्वारा कलश स्थापना गराई सामाजिक सुधार भन्ने नयाँ नियम लागू गरे । मनुस्मृति अनुसार ४ जात ३६ वर्णको कानून लागू गर्दा यहाँका बौद्धमार्गीहरुबाट विरोध भयो । ती विरोधको सामना गर्ने भिक्षुहरू माथि आक्रमण गरियो । प्रत्येक भिक्षुहरुको चीर हरण गरी थेरवादीविहारहरुमा भिक्षुहरू खाली गर्दै त्यस उप्रान्त कुनै पनि व्यक्ति थेरवादी भिक्षु हुन नपाउने आदेश जारी गरियो
यसको अलावा उपत्यका बाहिरका थेरवादी विहारहरूबाट भिक्षुहरु लखेट्नु मात्र होइन, त्यहाँका विहारहरू समेत भत्काउने कार्य गरे । जयस्थिति मल्लले नेपाललाई हिन्दू राज्य बनाउने जग हालिसकेपछि थेरवादी विहारहरूलाई राज्यबाट दिदै आएको अनुदान सहयोग सबै हिन्दू देवदेवी स्थापना गर्नमा लगाइयो । अनैतिक र भ्रष्ट आचरणबाट टाढा रहने भिक्षुहरुको उन्मूलन गरेपछि गृहस्थमा फर्केका ती भिक्षुहरूलाई बज्रयान धर्ममा लाग्न बाध्य गराइदियो । यसैकारणले थेरवादी भिक्षुहरू एकपछि अर्को गर्दै वेवारिसे अवस्थामा पुग्न गएको धर्मोदयसभाले प्रष्ट पारेको छ।

१९ औं शताब्दीको पूर्वार्द्धमा नेपाल खाल्डोमा थेरवाद बौद्ध परम्पराको शुरुवात ल्हासा (पूर्वी तिब्बतका खाम) बाट आउनु भएका क्यान्छा (क्याङछ्या) लामाबाट भएको हो । उहाँले पूर्व तिब्बतको खामबाट लगभग ३ बर्ष लगातार कठोर साष्टांग ढोग गर्दै नेपालका स्वयंभू महाचैत्य र बौद्धनाथ चैत्य (छ्योर्तेन ज्यारुङखशोर)को दर्शन गर्न आउनुभएकोले उहाँलाई क्याङछ्या (साष्टांग ढोग) गर्ने लामा भनिएको बुझिन्छ । लामाज्यूको नामसँग जोडिएको अर्को व्यक्तित्व धर्ममान साहू हुनुहुन्छ। साहूज्यूले स्वयम्भू महाचैत्यको जीर्णोद्वार कार्य गर्नुकासाथै यो धर्मले मूल जरो गाड्ने काममा बीजारोपण गर्ने कार्य समेत गर्नुभयो । बौद्ध धर्म प्रति साहू धर्ममानको आस्था तथा ल्हासा सितको घुनिष्ठ सम्बन्धको कारणले क्यान्छा लामाज्यू धर्ममान साहूको आतिथ्यमा रहनुभएको थियो ।
यसबाट भगवान बुद्धले दिनुभएको धर्मोपदेश बारे थाहा पाउने र धर्म प्रवचनहरू दिने कार्यको थालनी भयो। वि.सं. १९८७ सालमा श्रामणेर भिक्षु कर्मशील तिब्बती भाषामा ठान्ल्ये छुल्ठिम काठमाडौं आएर भिक्षाटन गरेपछि यहाँको बुद्ध धर्ममा नयाँ चेतना र उत्साह थपियो । ने.सं. १०४८ म २८ बर्षको उमेरमा तिब्बतका राजधानी ल्हासामा फोखौ रिन्पोछेको उपाध्यायत्वमा घेलुङ ( भिक्षु) को दीक्षा लिनुभई स्वदेशमा नै धर्म प्रचार गर्न आएका इटुम्बहाल निवासी कुलमान सिंह हुन् जो थेरवादमा लाग्नुभए पछि प्रज्ञानन्द भनी पसिद्ध हुनुभएको छ। यस अघि बौद्ध धर्मको आधारशिला भिक्षु संघ भएको कुरा मनन गरी वि.सं. १९८१ सालमा छेरिङ नोर्बु लामाले नातिकाजी श्रेष्ठ (पछि थेरवादमा लाग्नु भए पश्चात् भिक्षु महाप्रज्ञा) बेखाराज भिक्षु महावीर्य ज्ञान रत्न (भिक्षु महाशान्ति) लाई लामा भिक्षु बनाइएको थियो। यिनीहरूले धर्म परिवर्तन गरे भन्ने अभियोग लगाई तिनीहरूमाथि मुद्दा चलाइयो र लामा भिक्षु छेरिङ नोर्बुलाई अपराधी घोषणा गरेर वि.सं. २००१ (सन् १९३४) सालतिर राणा प्र.म. जुद्ध शम्शेरले तिनीहरू सबैलाई देश निकालाको सजायँ दिए । यस्तै नेपाल राज्यभित्र जोसुकै भिक्षु भएपनि देश निकाला गरे। विशेषगरी भिक्षु महाप्रज्ञा जन्मजातको हिन्दू नेवार भएको र मुलुकी ऐन अनुसार हिन्दू धर्मान्तरण गर्नु गैर कानून थियो।

सन् १९४६ मा बुद्धको जन्मभूमि नेपालमा भिक्षुहरुलाई स्वतन्त्रता दिनुपर्छ भनेर श्रीलंकाका नारदमहास्थविर, भिक्षु अमृतानन्द प्रधानमन्त्री पद्मशमशेरसँग वार्ता गर्न नेपाल आएँ। त्यसपछि देश निकाला भएका भिक्षुहरू मध्ये सर्वप्रथम धर्मालोक नेपालमा प्रवेश गरे । त्यहाँदेखि नेपालमा थेरवादले पुनः जीवन प्राप्त गरेको देखिन्छ।

त्यसपछि धर्म प्रति आस्थावान धार्मिक प्रवृत्तिका श्रद्धालु उपासक उपासिकाहरु अत्यंत आकर्षक भएर पुनः बुद्ध धर्म प्रस्फुटन हुन थाल्यो । यसरी प्रेरित हुने व्यक्तिहरूमध्ये पहिले गेलुक्पा सम्प्रदायकोलामाबाट भिक्षुशील लिनुभएका भिक्षु महाप्रज्ञा, भिक्षु प्रज्ञानन्द महास्थविर र महावीर्य हुनुहुन्छ । उहाँ हरूले सन् १९३० तिर कुशीनगरमा चन्द्रमणि महास्थविरको उपाध्यायत्वमा स्थविरवादको नियम अनुसार क्रमशः श्रामणेर र भिक्षुको शील लिनुभयो । तसर्थ उहाँलाई नेपालका बौद्धहरूले “तः धीम्ह भन्ते” (जेठा) भन्ते नामबाट चिन्दछन् र नेपालमा थेरवाद भिक्षुको पहिलो व्यक्तित्व उहाँहरू नै भएको बोध हुन्छ।

बुद्धभूमि नेपालमा भिक्षुहरु नरहेको अवस्थामा पनि अनागरिका धम्मचारीले क्याङ्छ्या लामाबाट शिक्षा प्राप्त गरी अष्टशील व्रत लिने र बौद्ध परम्पराका पूजा संचालन गरी बौद्ध धर्मको प्रवाहलाई अघि बढाउने तथा गति दिने काम गर्नुभयो। राणा सरकारको दवावका बाबजुद पनि उनले गाउँ गाउँमा गएर धर्म प्रचार गरेकोले २०औं शताब्दीमा नेपालका बुद्ध धर्म प्रचार-प्रसार गर्ने कार्यमा गुरुमाहरूको पनि ठूलो देन रहेको देखिन्छ । त्यसपछि उहाँहरूकै प्रेरणामा श्रद्धेय भिक्षु महास्थविर भन्तेज्यू र गुरुमाहरूले स्थविर बुद्ध शासनलाई अगाडि बढाउन ठूलो प्रयास गर्दै आउनुभएको परिणाम स्वरूप अखिल नेपाल भिक्षु महासंघ, आनन्दकुटी विहार, विश्व शान्ति विहार, बुद्ध विहार लगायत काठमाडौं उपत्यका र बाहिर जिल्लाहरूमा समेत धेरै संख्यामा स्थविर बौद्ध परम्पराका विहारहरू स्थापना गरी बुद्ध धर्मलाई यस अवस्थामा ल्याउन सफल भएको देखिन्छ।

धर्मशीला गुरुमा:

गत २०६४ साल असोज १२ गते अर्घौंसदन गोन्पा ( रामघाट) पोखरा के वार्षिकोत्सवको निमन्त्रणा मनाउन म पोखरा पुगिरहेको बेला त्यही मौका पारेर धर्मशीला विहार दायकसभाको तत्कालीन सभापति श्री तिलकमान गुभाजूज्यू रामघाटमा मलाई भेट्न आउनुभएको थियो र धर्मशीला विद्वत्वृत्ति २०६४ प्रदान गर्ने निधो भइसकेको प्रस्ताव राख्नुभयो । त्यसलाई मैले स्वीकार गरेपछि उहाँले मलाई वि.सं. २०६४/०८/०५ गते बुद्ध विहार नदीपुर पोखरामा आउनु हुन निमन्त्रणा पनि दिनुभयो । त्यसको लागि मैले उहाँलाई आफू र आफू कार्यरत समितिको तर्फबाट धन्यवाद पनि दिएँ । आफूले बौद्ध धर्मको सिद्धान्तलाई आत्मसात् गरी निस्वार्थ भावले बहुजनहिताय, बहुजनसुखायको मूल मन्त्रलाई शिरोपर गर्दै जनसमुदाय समक्ष पुऱ्याउने काम गरेको फलस्वरूप आफूलाई यो सम्मान प्राप्त भएको अनुभव भयो। साथै यो सम्मानलाई धर्मशीला गुरुमाको बारेमा केही बुझ्न अवसरको रूपमा लिने अठोट गरे । यस अघि यो सम्मान बौद्ध धर्ममा खोज अनुसन्धान गर्ने थेरवाद परम्पराका भिक्षुभिक्षुणीहरुलाई दिदै आइरहेका थिए।

बाल्यकालः

धर्मशीला गुरुमा बाल्यकालदेखि धार्मिक गतिविधिमा लागि तदनुरूप आचरण गर्दै धार्मिक कृयाकलापमा रमाउने गरेको पाएँ। यसबाट उहाँ पूर्व जन्ममा धार्मिक प्रवृत्तिका व्यक्ति भएको संकेत पाइन्छ । उहाँ धार्मिक यात्रामा निस्कने क्रममा घर (पोखरा)बाट भागेर बन्दीपुर हुँदै चितवनको अनकन्टार जंगल पार गर्दै जीवनको जोखिमपूर्ण कष्टकर यात्रा गरेर भारतको कुशीनगर जानुभनेको सानोतिनो कुरा होइन, यो उहाँ भित्र गहिरो धार्मिक भावना भएको प्रमाण हो भन्न सकिन्छ । यस प्रवृत्तिमा लागेका मानिसहरूलाई धार्मिक प्रभावले गर्दा आफ्ना धर्मगुरु बाहेक अरू कुनै चिन्ता नहुने कुरा धर्म ग्रन्थहरूमा लेखेको पाइन्छ। बुद्ध धर्मको अनुसरण गर्ने व्यक्तिहरूमा यस्ता प्रवृत्ति देखिनु शुभ लक्षणको रूपमा पनि लिइन्छ । हाम्रो राजकुमार सिद्धार्थले पनि श्रीमती, नवजात शिशु, बुद्ध बुबा, राजपाट लगायत सबै सांसारिक वैभव त्यागेर त्यसबाट अलग भएर आध्यात्मिक ज्ञानको खोजिमा निस्कनुभएको हामी सामु प्रष्टै छ । बुद्धको १२ लीलामध्ये निःसरण (गृहत्याग) को नामले प्रख्यातछ । त्यस्तै अधिकांश भिक्षु सिद्ध बौद्ध विद्वानहरू पनि घरपरिवारबाट भागेर धार्मिक यात्रा निस्कदा धार्मिक यात्रा सफल भएको वृतान्त पाइन्छ । बुद्ध विहार पोखराका धर्मशीला गुरुमाले पनि यहि परम्परालाई निरन्तरता दिनुभएको अनुभव हुन्छ ।

बुद्ध विहार स्थापनाः

जीवनमा दिन प्रतिदिन घर गृहस्थीको काममा व्यस्त रहनुपर्ने र त्यसबाट कहिल्यै फुर्सत नपाइने उपासक उपासिकाहरुलाई समय समयमा आध्यात्मिक धर्मदेशना गरेर तिनीहरूको मन मष्तिस्कमा पुण्यको बीजारोपण गर्ने भिक्षुभिक्षुणीको काम हो भने धार्मिक व्यक्तिकाे व्यक्तित्व बाट प्रभावित भाई बौद्ध धर्मको क्षेत्रमा सेवा गर्ने र आफू पुण्यभागी हुनका लागि गोन्पा, विहार, चैत्य इत्यादि धर्मसंस्थान स्थापना गरेर भिक्षुणीहरूलाई महादान, मूर्तिप्रतिस्थापन गरी प्रदान गर्ने उपासक, उपासिकाहरुको धर्म भएको बौद्ध धर्म सामग्रीबाट बुझिन्छ । त्यस्तै धर्मशीला गुरुमाको धार्मिक कृयाकलाप र व्यक्तित्व बाट प्रभावित भएर स्वच्छ भावनाका दातामहानुभावहरूले विहार स्थापना गरेर वौद्ध विधिपूर्वक प्रदान गर्ने, विहार परिसर विस्तार गर्ने, विहार क्षेत्रलाई पर्खालले घेरेर सुरक्षित गर्ने विहार क्षेत्रमा चाहिने मुलगेटहरू स्थापना गर्ने, अतिथि भवन, प्रार्थना कोठा एवम् भोजनालय, पुस्तकालय र शौचालय आदि इत्यादि आवश्यक सामग्रीहरू स्थापना गरिदिनु धार्मिक दृष्टिकोणले अत्यन्त शुभकार्य मानिन्छ र यसलाई सहजसिद्ध एवं अनभोग वैभव भनिन्छ । यी सामग्रीहरू धर्मशीला गुरुमालाई पनि प्राप्त भएकाले धार्मिक स्तरबाट उच्च मूल्याङ्कनका साथै महत्वपूर्ण उपलब्धि भनिएको छ।

बुद्ध भूमि नेपालमा जहानीया राणाशासन कालमा बुद्ध धर्म प्रचार-प्रसार गर्नु एक प्रकारको ठूलो अपराध गरेको जस्तै सम्झिने भयभीत अवस्थामापनि धर्मशीला गुरुमाले बुद्ध विहारकाे तर्फबाट प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा बौद्ध धर्मको सेवा गर्ने काममा कुनै कसर बाँकी नराखेको पाइयो। यही प्रसंगमा उहाँमा एकजना शुभचिन्तकले धर्मशीला गुरुमालाई प्रवज्जित व्यक्ति राजनीतिमा लाग्दा केही अप्ठ्यारो भएन ? भनि सोध्दा उहाँले ‘राणा शासन बौद्ध धर्मको विरोधी भएको, बौद्ध भिक्षुहरूलाई जेलनेल हाली यातना दिएको, भिक्षुहरूलाई देश निकाला गरेको आदि जवाफ दिनुभएको थियो । वास्तवमा राजनीति नराम्रो होइन तर नेपालको सन्दर्भमा यो फोहोरी खेल भएको छ । षड्यन्त्र रचेर एकअर्कालाई पतन गरेर त्यस स्थानमा आफू बस्नु अर्काको घरगोठ बिगार्नु, अरूको अपमान हुने काम चाहिं नराम्रो राजनीतीको खेल हो। तर, आफ्नो हकअधिकारका लागि आवाज उठाउनु, आफ्नो धर्म, गुरु, बाबु र आमाको विरुद्धमा आइलाग्नेमाथि जाइलाग्नु, वादविवाद गर्नु,वैचारिक संघर्ष गर्नु धर्म विपरीत काम होइन जस्तो मलाई लाग्छ ।’

विश्वशांतिका अग्रदूत शाक्यमुनी बुद्धको जन्मभूमि नेपाललाई हिन्दू अधिराज्य घोषणा गर्नु, विज्ञान सम्मत बौद्ध धर्मलाई ईश्वरवादी हिन्दू धर्म की शाखा हो भन्नु, बुद्धको जन्मभूमि नेपालमा भिक्षु बन्न नपाउनु, नेपाल आमाको सुपुत्र बुद्धको अनुयायी भिक्षुहरुलाई देश निकाला गर्नु, बुद्धको आमा मायादेवी लाई रुम्मिणीमाई भनेर पशुवली दिनु, बौद्ध धर्मको स्मारक चैत्य भत्काउनु आदि इत्यादीको विरुद्धमा आवाज उठाउनु राजनीतिक गरेको होर ? यी कुराहरू सबै हाम्रो धार्मिक नियम भित्र भएको कुरा हो र यी नियमको परिधिभित्र रहेर धर्मशीला गुरुमाले समसामयिक कदम अघि बढाएको बुझिन्छ । यसरी आफ्नो धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि निडर भई अगाडि बढ्ने व्यक्तिलाई महापुरुष एवम् महासत्व भनिएको छ । यसरी नै उहाँले चिरकालसम्म बुद्ध विहार पोखराकाे संरक्षणका लागि उपासक उपासिकाहरुलाई संगठित गरी ज्ञानमाला संघको गठन गरेको, संगठनात्मक एकताको शक्ति नै सबैभन्दा ठूलो शक्ति हो भन्ने महसुर गरी पोखरा उपत्यकाका बौद्ध सम्प्रदायलाई एकतावद्ध गरी संयुक्त रूपमा पोखरा उपत्यकाव्यापी बुद्ध पूजाको आयोजना लगायत त्यस क्षेत्रको धार्मिक सामाजिक र शैक्षिक क्षेत्रमा ठूलो योगदान गरेको पाइन्छ ।

विशेष गरी ब्राह्मण कुलमा जन्मेका घाचोक निवासी
श्री जयलाल लम्सालजीलाई धर्मशीला गुरुमाले आफ्नो दायकत्वमा भिक्षु अच्युतानन्द महास्थविरको उपाध्यायत्वमा प्रव्रजित गराई भिक्षु बनाइदिनु भएको बौद्ध जगतमा ठूलो सेवा र अति प्रशंसनीय कार्य गर्नुभएको देखिन्छ । किनभने बाटो बिराएकालाई सही बाटो देखाउनु नै सबभन्दा ठूलो धर्म हो भनिएको छ ।
अन्ततः धर्मशीला गुरुमाको गुणगान गरेर साध्य हुँदैन । धर्म चक्षु पत्रिकामा एक जना सज्जनले उहाँ धर्मको उच्चस्थानमा आसीन व्यक्ति भनी टिप्पणी गर्नुभएको रहेछ । म पनि त्यसको पक्षमा छु । थेरवाद मतानुसार अर्हत आदि चार फल चार तह छन् । महायान मतानुसर मुदित र विमल लगायत दश बुद्धभूमि, संभर मार्ग र योग लगायत ५ मार्गहरू छन् । उहाँ यही कुनैपनि बुद्ध भूमि र मार्गमा आसीन भएको हुन सक्छ । यो उहाँको कर्मक्षेत्रबाट बुझिन्छ । यसको अतिरिक्त उहाँले शुद्ध भावनाले अरूको हित र लोकमा शान्ति होस् भन्ने सदाशयले बुद्ध धर्मको क्षेत्रमा सेवा गरेको हुनाले उहाँको शेषपछि पनि धर्मशीला विहारमा धार्मिक कृयाकलापहरू बृद्धि भई प्रगति भएको देखिन्छ । यसबाट उहाँ बिशुद्ध बिचारकी व्यक्ति भएको बुझिन्छ। यस्ता व्यक्तित्व भएका मनिसहरूको बारे खोज अनुसन्धान गर्नु सदा अध्ययन र सद्संगत गर्न पाइयोस, जगत प्राणीको हित गर्न लोकमा यस्ता महापुरुषहरूको जन्म भइरहोस् र धर्मशीला गुरुमाको अविस्मरणीय सपना साकार पार्न लागिपरेका संघसंस्थाहरू आ-आफ्ना गन्तव्यस्थलमा पुग्न सफल होस् । भवतु सब्ब मंगलम्।

साभार: धर्म चक्षु पत्रिका
स्रोत: खेम्पो ङवाङ् वोसेर लामा

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

बुद्ध जयन्तीको सान्दर्भिकता

 वैशाख पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा विश्व मानव इतिहासमा एक विशेष घट्ना घटेको दिन हो । इतिहासले एक महामानव, एक महापुरूष तथा मानव...

बुद्ध धर्म के हो ? बौद्ध को हुन् ?

भगवान बुद्ध जन्मेको सुन्दर देश हो नेपाल । बौद्ध देशको नामले नेपाल संसार भर चिनिन्छ । हामी जुन जुन बौद्ध देशहरूमा पुग्दछौ,...

खेमा र बुद्ध

मगधका राजा बिम्बिसारकी कान्छी महारानी हुन् खेमा। भनिरहनु पर्दैन कि राजा बिम्बिसार र बुद्धको मित्रता जीवनपर्यन्त...

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

अन्य गतिविधि